साढे २४ लाख घुस लिने मालपोत हाकिमसहित २ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोपग अनुसन्धान आयोगले भक्तपुरस्थित भूमि सुधार तथा मालपोत कार्यालयका प्रमुखसहित दुईजनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ ।

२४ लाख ५० हजार रुपैयाँ घुस लिएको आरोपमा भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्य र कार्यालय सहयोगी टिकाराम राउतविरुद्ध बुधबार विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दर्ता गरेको आयोग प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।

उनका अनुसार उनीहरूको साथबाट मोबाइलसहित घुसवापत लिएको २४ लाख ५० हजार समेत बरामद गरिएको थियो ।
चाँगुनारायण नगरपालिकामा रहेको १४ रोपनी ४ आना क्षेत्रफलको जग्गा मोही र लगत कट्टा गरी मोहीको नाममा प्रमाण पुर्जा बनाउने क्रममा सेवाग्राहीसँग उनीहरुले २४ लाख ५० हजार घुस लिएका आयोगको दाबी छ ।

दुुवै प्रतिवादीविरुद्ध २४ लाख ५० हजार रुपैयाँ बिगो कायम गरी बिगो बराबरको जरिवाना र कैद सजाय माग गरेर मुद्दा दर्ता गरिएको प्रवक्ता पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : २०८२ साउन २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस