घोराही–लमही सडक तिन दिन वन्द

घोराही । दाङको घोराही–लमही सडकखण्डअन्तर्गत मसोट खोला पुल मर्मतको काम सुरु भएको छ । चार दशकअघि निर्माण भएको पुल क्षमताभन्दा बढी भारवहन बोकेका सवारीसाधनका कारण जीर्ण बनेपछि सडक डिभिजन कार्यालय दाङले मर्मतको काम थालेको हो ।

पुल मर्मत हुन थालेपछि घोराही–लमही सडकखण्डमा चार दिन दुई पाङ्ग्रे सवारीसाधन बाहेकका अन्य सवारीसाधन बन्द हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय घोराहीमा बसेको जनप्रतिनिधि, सडक डिभिजन कार्यालयका प्रतिनिधि, सुुरक्षा निकाय, यातायात व्यवसायीलगायत सरोकारवालाको संयुक्त बैठकले साउनको २१ गते बिहान ७ देखि २४ गते बिहान ७ बजेसम्मका लागि दुई पाङ्गे्र सवारीसाधन बाहेकका अन्य सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।

घोराही–लमही सडकखण्ड बन्द हुँदा वैकल्पिक सडकका रूपमा अर्जुनखोला–अमेलिया–तुलसीपुर–घोराही सडकको प्रयोग गर्ने निर्णय भएको सडक डिभिजन कार्यालय दाङका प्रमुख दिपेन्द्रबहादुर विष्टले जानकारी दिनुभएको छ । पुल मर्मत गर्दा खोलामा भएको ड्राइभर्सन सडक डिभिजन कार्यालय दाङले मर्मत गर्ने र ट्राफिक प्रहरीको नियमनमा अत्यावश्यक सवारी साधनलाई भने घोराही–लमही सडकखण्डबाटै आवागमनको व्यवस्था मिलाउने भएको छ ।

२०३८/०३९ सालमा निर्माण भएको पुल जीर्ण भएपछि अहिले सडक डिभिजन कार्यालय दाङले पुल मर्मतको काम सुरु गरेको छ ।

सडक डिभिजन कार्यालय दाङका प्रमुख दिपेन्द्रबहादुर विष्टका अनुसार पुलको दायाँतर्फको तीनवटा गर्डर 0बिम) मध्ये एउटा गर्डर धेरै चर्किएको छ । करिब एक महिना अगाडिदेखि विशेषज्ञमार्फत् पुलको प्रारम्भिक परीक्षण गराएर पुल मर्मतको काम अहिले भइरहेको प्रमुख विष्टले जानकारी दिनुभएको छ ।

पुल जीर्णसँगै अत्यधिक भारवहन क्षमता बोकेका गाडीका कारण भाचिने जोखिम बढेपछि कार्यालयले पुलमा वारपार गर्ने सवारीको गति घटाउन पुलको दुवैतर्फ ड्रमहरूसँगै सूचना बोर्ड राखेको थियो । तत्कालीन सरकार र माओवादी द्वन्द्वको समयमा २०६२ साल फागुनमा माओवादीले पुलमा बम विस्फोट गराउँदा क्षति भएको थियो ।

बम बिस्फोटपछि क्षति भएको पुल आर्थिक वर्ष २०६६/०६७ मा मर्मत गरेर सञ्चालन गरेपनि पछिल्लो समय हेभी क्षमताका भएका सवारीसाधन सञ्चालन हुँदा पुलमा क्षति पुगेपछि मर्मत हुन थालेको हो । पुल मर्मतका लागि एक साता बढी समय लाग्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २०८२ साउन १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस