प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिने फ्रान्सको निर्णय, अमेरिकाले गर्‍यो अस्वीकार

काठमाडौं : अमेरिकाले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँको प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिने निर्णयलाई कडा रूपमा अस्वीकार गरेको छ। अमेरिकाले म्याक्रोँको निर्णयले हमासको प्रचारलाई मात्र बढवा दिने बताएको हो।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सामाजिक सञ्जाल एक्समा लेखे,‘संयुक्त राष्ट्र संघको महासभामा प्यालेस्टाइनलाई राष्ट्रको रूपमा मान्यता दिने इमानुएल म्याक्रोनको योजनालाई संयुक्त राज्य अमेरिकाले कडा शब्दमा अस्वीकार गर्दछ।’

उनले थप लेखे,‘यो गैरजिम्मेवार निर्णयले हमासको प्रचारलाई मात्र बढवा दिन्छ र अशान्ति बढाउनेछ। यो अक्टोबर ७ को आक्रमणका पीडितको गालामा थप्पड जस्तै हो।’

राष्ट्रपति इमानुएल म्याक्रोंले बिहीबार आफ्नो देशले यस वर्ष सेप्टेम्बरमा प्यालेस्टाइनलाई आधिकारिक रूपमा मान्यता दिने भनेका थिए।

राष्ट्रपति म्याक्रोंले सामाजिक सञ्जाल एक्समा यसको औपचारिक घोषणा न्यूयोर्कमा हुने संयुक्त राष्ट्र संघको महासभाको सत्रमा गरिने उल्लेख गरेका छन्।

प्यालेस्टिनी अधिकारीहरूले म्याक्रोनको निर्णयको स्वागत गरेका छन्। तर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले यो कदमको आलोचना गर्दै भने,‘आतंकवादलाई पुरस्कृत गर्नु बराबर हो।’

प्रकाशित मिति : २०८२ साउन ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस