सामान्यतया धर्म भन्नाले कुनै पनि प्राणी, वनस्पतिको अहित हुने कर्म नगर्नुलाई बुझिन्छ । जानेर वा अन्जानमा हामी मनुष्यले गर्ने कर्म जसबाट अरु कसैलाई पनि हानीकारक नहोस भनि गरिएका सबै सकारात्मक कर्म नै धर्म हो । कतिले धर्म भनेको नित्य पुजा, मन्दिर गएर आफुले मानेको भगवानलाई गरिने पुजा वा समय समयमा आयोजना गरिने अनुष्ठान, दान अर्पण गरे पछि मात्र धर्म गरेको बुझ्नु भएको हुन्छ । कतिले धर्म गर्नलाई मन्दिर नै जानुपर्छ र दान, अर्पण नै गर्नु पर्छ, सत्यकर्म गर धर्म त्यहि हुन्छ भन्नुहुन्छ । सबै विचार आ-आफ्नै बुझाईमा अति उत्तम रहेकाछन् । यी सबै उत्तम विचारहरुलाई समेटेर बुझ्दा धर्म भनेको सत्कर्म, सत्भक्ति, सुसंस्कार र सत्यमार्गको प्राप्तिलाई बुझिन्छ । सत्कर्म अर्थात माथि उल्लेख गरिए झै कुनै पनि प्राणी, वनस्पतिलाई जानेर वा अन्जानमा पनि हानिकारक हुने कार्य नगर्नु, सबैको कल्याणका नीम्ति कार्य गर्ने र जगतैको भलो होस भन्ने विचार राख्नु । चेतन वा अचेतन कुनै पनि मनमा अरु प्रति कुविचार नराख्नु, जानेर र नजानेर पनि कुनै गलत कर्म नगर्नु, कसैलाई पिडा नदिनुलाई नै सत्कर्म भनि बुझिन्छ ।
सत्भक्ति अर्थात हामीले गरिरहेको पुजा, अर्चना, पुकार बन्दना, अनुष्ठानले पनि हाम्रो धर्मलाई प्रभावित गरिरहेको हुन्छ । साँझ बिहान नित्य पुजा, विभिन्न मन्दिरको विभिन्न समयमा दर्शन, समय समयमा विभिन्न धर्म अनुष्ठान, पुजाको आयोजना, विभिन्न स्थानमा मठ मन्दिरको स्थापना गरे तापनि हाम्रो मनमा कसै एक प्रति पनि कुविचार आयो र आफ्नो भलोका लागि मात्र माथि उल्लेखित कर्म गरिएको हो र अरुको अहित होस भन्ने विचारले पुजा, पुकार, बन्धना, मनमा कल्पना गरिएको छ भने त्यस्तो भक्तिलाई सत्भक्ति भन्न मिल्दैन, त्यसलाई असुरको भक्ति गरिएको बुझिन्छ । आफ्नो स्वार्थ पुरा गर्नका नीम्ति गरिएको भक्तिले अरुको अहित हुन्छ भने त्यसबाट धर्म होइन अधर्मको बृद्धि हुन्छ जसको कारण विनास निम्तिन्छ । त्यसैले सबैको कल्याण होस, सबैको भलो होस भनि गरिने भक्ति नै सत्भक्ति हो । जसले सत्भक्ति गर्छ, उसले जुन सुकै माध्यमबाट गरेको कर्म सबै धर्म गरिरहेको हुन्छ । चाहे पुजा, अर्चना, बन्दना, अनुष्ठानको माध्यम होस वा असल कर्म गरेर सबैको भलो गरेर धर्म गरिरहेको हुन्छ ।
सुसंस्कार अर्थात हामी मनुष्य सामाजिक चेतनशील प्राणी हौ, अरु प्राणी भन्दा मनुष्य प्राणी चेतनशील भएकाले सर्वश्रेष्ठ प्राणी पनि भनिएको छ । यसरी चेतना भएका हामी मनुष्य प्राणीले बनाएका सामाजिक, धार्मिक नीतिको पालना गर्नु वा समय परिवेश बमोजिम आवश्यक व्यवहारिकतामा कार्यान्वयन गर्न असहज भएका नीतिलाई परिमार्जित गरि परिपालन गर्नु गराउनुलाई सुसंस्कार भनि बुझिन्छ । सुसंस्कार आफैमा परिभाषित शब्द हो अर्थात सु सभ्य, सं=सम् समान, स्कार=सकार “सभ्य समान कर्म”भनि स्वीकार गरिएको शब्द नै सुसंस्कार हो ।
सुसंस्कारमा रहेर गरिएको कर्म आफैमा धर्म हो । सबैको हित हुने संस्कार, नीति बनाउनु र बनाइएका ती नीतिको दुरुस्त पालना गर्नु गराउनु पनि सुसंस्कारमा आउँछ । हामीले सामाजिक, धार्मिक नीतिलाई दुरुस्त पालना गर्यौ भने घर, परिवार, समाज र धर्ममा द्धन्दले जन्म लिदैन । द्वन्द अर्थात मतभेदले जन्म लिएन भने नीति, संस्कारमा सत्यता रहेको पाईन्छ । जब कुनै पनि प्राणीले अन्याय भएको महसुस गर्छ, उसले त्यस विषयमा आवाज उठाउछ, त्यस आवाजको वास्ता गरिएन भने उसको आवाज गलत विषयमा उठेको छ वा उसको नीति संगत उठाइएको आवाजलाई कसैले आफ्नो स्वार्थका नीम्ति दबाउने प्रयत्न गरिरहेको हुन्छ त्यति बेला सुसंस्कार नभएर स्वार्थी भावले कर्म गरिएको हुन्छ, त्यसैले धर्म होइन अधर्म गरिएको हुन्छ । सामाजिक, धार्मिक नीति पनि समय सापेक्ष व्यवहारिक छैन भने सबैको सहमतिमा परिमार्जित हुन आवश्यक छ अन्यथा सहि सत्य नीति हुदाँहुदै पनि आफ्नो व्यक्तिगत स्वार्थ पुरा गर्नका नीम्ति नीतिको अवमुल्यांकन गरि गलत अर्थ लगाउने र सहि कार्यान्वयन गर्न खोज्नेलाई गलत भनि टिका टिप्पणी गरि चरित्र हत्या गर्ने, उसलाई कर्म गर्नबाट त्याग गराउने नभएका अरु मुद्धा उठाउने र आफु नै सर्वपरि हु भन्ने सावित गर्न खोज्ने कर्मलाई धर्म भनिदैन ।
जिम्मेवारी पुर्ण गर्नका नीम्ति अपनाइएका कर्महरु जुन नीति संगत छन भने त्यसलाई दुरुस्तै अपनाउनु वा कार्यान्यवन गर्नु गराउनु पनि धर्म हो । त्यसैले यसरी माथि उल्लेखित कर्महरु गर्दै हिडिरहेको बाटो सत्मार्ग हो । सत्मार्ग प्राप्ति गरेर सोही मार्गमा हिड्न कठिन हुन्छ भन्ने सुन्दै आएकाछौं । यद्धपि सत्कर्म, सत्भक्ति, सुसंस्कारमा रहि गरिएका कर्मले आर्जन गरिएको धर्म, सत्मार्ग अति उत्तम हुन्छ । सदा सत्कर्म, सत्भक्ति, सुसंस्कारमा कर्म गरिरहेकाछौं भने सत्मार्गमा हिड्न कठिन छैन भन्ने बुझाईलाई आत्मसात गरि अगाडि बढेमा धर्म, संस्कृति र संस्कारको संरक्षण भै सुखी, समृद्धि परिवार, घर, समाज, देश र विश्वमा शान्ति प्राप्ती हुन्छ । एकले अर्कालाई हान्ने, मार्ने, अगाडि बढेका कर्मलाई पछाडि पार्ने र अरुलाई पछि पारेर आफु अगाडि बढ्छु भन्ने मानसिकता बोकेर गरेका कर्म सबै कुकर्ममा आउँछन् । कुकर्मले धर्म होइन अधर्म कमाइन्छ । एक आपसमा मिलन, सद्भाव र सुविचारले मात्र धर्मको संरक्षण हुन्छ भन्ने यथार्थलाई नविर्सिएर गरेको कर्म सबै धर्म हुन । धार्मिक, सामाजिक नीति कार्यान्वयन गराउनका नीम्ति गरिने पुजा, अर्चना, बन्दना, अनुष्ठान गरेर, सबैको भलो हुने काम गरेर हाम्रो संस्कारलाई बचाउन गरिने सबै सत्कर्म, सत्भक्ति, सुसंस्कार नै हाम्रो संस्कृति हुन । जसलाई हाम्रो समाज, धार्मिक संगठन, राष्ट्रले सम्पतिको रुपमा संरक्षण गरेर राखेको पाईन्छ ।
धर्मकै कुरा गर्ने हो भने हाम्रो संस्कार र संस्कृतिमा अतिथि देवो भवः अर्थात हाम्रो अतिथि वा पाहुनाको रुपमा आउनुभएका सबै प्राणी भगवान हुनुहुन्छ । उहाँहरुको सेवा, सत्कार नै हाम्रो धर्म हो भन्ने मान्यता, नीति हाम्रो संस्कारमा रहेको छ । ठुलालाई आदर सम्मान गर्नु र सानालाई माया गर्नु भनिएको छ । हामीले बनाएको संस्कार नीति गलत त छैन् । तर त्यहि नीतिको अर्थ समान बुझाई सबैलाई नभएको कारण नै जसलाई अतिथिको रुपमा आमन्त्रण गरियो उनैबाट हामीलाई हानी नोक्सानी र अपमान गरिन्छ, पुजा अर्चनामा आमन्त्रण गरियो भने त्यहाँ भएको राम्रा पक्ष भन्दा नराम्रा पक्षको हास्यास्पद टिकाटिप्पणी मात्र गरेर उसले गरेको सम्मानको निन्दा गर्न खिल्ली उडाउने र प्रसादलाई अपमान गर्ने कार्य गरिन्छ भने अतिथि देवो भवः नभएर अतिथि असुर बनिदिदा अशान्ति हुन्छ । तथापि आमन्त्रण गर्नेले अतिथि बनाएर बोलाउने, उससंग केहि पाउछु भन्ने स्वार्थी भावले बोलाउने, स्वार्थ पुरा भैसके पश्चात उसको स्थान नै खोस्ने प्रयत्न गर्ने र त्यो नपाएमा अनेक थरि लाल्छना लगाएर अतिथिको मानसम्मानमा चोट पुर्याउनु पनि महापाप हुन्छ, धर्मको त कुरै छाडौं ।
मनोभाव, आत्मसम्मान र सद्भाव आफैमा एक अर्काका परिपुरक हुन । धर्म पुजा, अर्चना, बन्दना, पुकार, मठ मन्दिरको निर्माण, दान अर्पण, सत्मार्ग, सत्कर्म, सत्भक्ति र सुसंस्कार सबै कर्महरु धर्म हुन जुन असल विचार, असल कर्म, सेवा, सहयोग र प्रेम, सामिप्यता सबैको समिश्रण नै धर्म हो । धर्म कमाउन बर्मा जानु त पर्दैन तर एक ठाउँमा बसेर वा बुढो भएपछि बल्ल धर्म गर्ने हो भन्ने सोच राख्नु पनि अचेतना हो । धर्म र कर्म दुबै परिपुरक हुन, धर्म गर्नका निम्ति कर्म गर्न अति आवश्यक हुन्छ । कर्म विना धर्म निअर्थक हुन्छ । मनको भावले त धर्म गर्यौ तर सेवा, सहयोग गर्न आवश्यकता पर्दा सघाउनका नीम्ति त आफु पनि सक्ने हुनुपर्छ । त्यसैले बुढो भएर होइन, उमेर छदै कर्म गरेर धर्म गरौं । हामीले गरेको कर्मले धर्म, संस्कृति र संस्कारको संरक्षण गर्न सकिन्छ । धर्म कुनै फरक विषय होइन, हामीले गरेका दैनिक नित्य कर्म देखि लिएर परिवार, घर, समाज, रोजगार, देश विदेश सबै ठाउँमा भए गरेका कर्महरुबाटै धर्म प्राप्ती हुन्छ ।
यस स्तम्भकारलाई धेरै आध्यात्मिक ज्ञान रहेनछ भन्ने तपाईलाई लाग्नु स्वभाविक होला तर व्यवहारिकताबाट प्राप्त आध्यात्मको बुझाई पनि ज्ञान हो भन्ने यस स्तम्भकारलाई लागेकोे छ । वेद, पुराण, गीता, रामायण, महाभारतको ज्ञाता भएर यस विषयलाई उठान गर्न खोजेको पक्कै होइन तर वेद, पुराण, गीता, रामायण र महाभारतमा भएको मनोभाव र अन्तरद्वन्द पनि त्यति बेलामा भएका मनुष्य प्राणीहरुको जीवन शैलीको सत्य कथालाई आधार मानेर लेखिएका नाटक, कथा वा ज्ञान वर्धक संस्कृत श्लोकमा उल्लेख गरिएको ज्ञान पुस्तकहरुकै रुपमा लिन सकिन्छ । पुस्तक सबै ज्ञान वर्धक नै हुन्छन् तथापि ती ग्रन्थमा उल्लेख गरिएका द्रौपदीका वस्त्र हरण र पाँच पाण्डवकी एक पत्नि भनि उल्लेख गरिएको कथा सुन्दा कसैलाई मनमोहक लागे पनि कसैलाई पक्कै पनि ति स्त्री जसले त्यो परिवेशलाई सम्हाल्दाको व्यथाको महसुस अन्तरमनले गर्नु भएको होला । अवश्य पनि त्यस्ता पिडाको अन्त्यका लागि अब उप्रान्त पिडादायिक कथाको सिर्जना नगरौं भन्ने त पक्कै पनि लाग्दो होला । ती स्त्रीको पिडादायिक व्यथाको वृतान्त कथा कतै उल्लेख भएको पाईदैन तर पौराणिक धार्मिक कथा भएकाले त्यहाँ निराकार स्वरुपमा प्रमात्मा कुनै न कुनै रुपमा आएर उद्धार गर्नुहुन्छ भन्ने यथार्थ बोधका नीम्ति श्री कृष्णले द्रौपदीको वस्त्र हरण हुनुबाट उद्धार गर्नु भएको उल्लेख पाईन्छ ।
त्यस्ता कष्टका कथा पढेर द्रौपदीलाई श्रद्धाको पात्र त बनाइएको छ तर किन बिचरा बनाएर भारी सभामा कसैले आफ्नो भोग विलास र आनन्द लिने स्वार्थका लागि एक नारीको सर्वस्व नासको कथालाई लेख्ने, त्यस्ता कर्म कथाको सिर्जना किन गर्ने, हामीले धर्म संस्कृति जोगाउने निउमा स्त्री वा कोहि पनि प्राणीलाई किन अपमानित गराउँने, त्यस्ता पिडादायिक कथालाई अब पनि किन सिर्जना गर्ने, बरु त्यस्ता विलासिता र स्वार्थी भावले पिडा, अपमान प्राप्त कथाको अन्त्यका नीम्ति कर्म गरौ, कलियुगको अन्त्य गरि नयाँ सम्मानित कथा लेखौं जसले हामी सबैलाई उत्साह, उमंग, सुख, शान्ती र संमृद्धि प्राप्त हुनेछ । जसले धर्म, संस्कृति र संस्कारको प्रवर्धन भै स्थापित हुनेछ । धर्म र संस्कार किताबमा भन्दा मन मष्तिस्कमा लेखाउनका नीम्ति हामीले आफु, आफ्नो परिवारबाट नै शुरु गरेर सबैका मन मष्तिस्कमा स्थापित गर्न सके धर्म, संस्कार र संस्कृतिलाई अन्तरमनमा स्थायी स्थापना गर्न सकिन्छ भन्नेमा कुनै शंका लिनु पर्दैन ।
“समाप्त”


