
काठमाडौं– केकी अधिकारी अहिलेका लोकप्रिय अभिनेत्रीमध्येकी एक हुन् । अहिले उनी फिल्म ‘परान’ को छायांकनमा व्यस्त छिन् । केकी एक त्यस्ती अभिनेत्री हुन्, जसको अभिनयको मात्र नभएर बौद्धिक क्षमताको पनि प्रशंसा भइरहेको हुन्छ । जसले गर्दा उनलाई राजनीतिकस्तरको चियापान समारोह लगायतमा पनि देखिने गरेको छ ।
तर, यतिबेला भने अभिनेत्री केकी अधिकारी एउटा भिडियोका कारण आलोचित हुन पुगेकी छिन् । भिडियो भर्खरको नभएर केहि दिन अगाडिको हो । जहाँ उनले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रशंसामा केहि शब्द बोल्दै गरेको देखिन्छ । केकीले प्रधानमन्त्री ओलीको प्रशंसा गरेकाले नै आज उनलाई सामाजिक सञ्जालमा आलोचित गरिँदैछ । पहिला नै प्रकाशित भइसकेको भिडियोलाई लिएर अहिले अभिनेत्री अधिकारीलाई वहिष्कार गर्नेदेखि लिएर विभिन्न गालिगलौच पनि गरिएको छ ।
फागुन १९ गते आयोजित ‘केपी शर्मा ओलीः सपना, संघर्ष र संकल्प’ पुस्तक लोकार्पण कार्यक्रममा प्रधानमन्त्री ओलीलाई सम्वोधन गर्ने क्रममा केकीले प्रधानमन्त्रीसँगको आफ्ना भेटघाटको समयमा भएका कुराकानीको बारेमा बताउँदै प्रधानमन्त्रीले आफ्ना कुरालाई गम्भीरताका साथ सुनिदिएको बताएकी थिइन् ।
तर अहिले केकीलाई तिनै कुराहरु बोल्नु भारि परेको छ । उनले प्रधानमन्त्री ओलीकै बारेमा लेखिएको पुस्तक विमोचन समारोहमा प्रधानमन्त्री ओलीको बारेमा बोलेको कुरा नै केकीको आलोचनाको विषय बनेको छ ।
हुन त प्रधामन्त्रीको प्रशंसा गर्दा आलोचित हुने केकी पहिलो कलाकार होइनन् । केकीभन्दा अगाडि पनि गायक तथा अभिनेता प्रकाश सपुत पनि प्रधानमन्त्रीको प्रशंसा गरेकै कुराले आलोचित हुनु परेको थियो । सपुतले पनि त्यही कार्यक्रममा प्रधानमन्त्री ओलीको प्रसंसा गरेका थिए ।
सपुतलाई त उनको प्रदर्शनको तयारीमा रहेको फिल्म
‘वसन्त’ नै वहिष्कार गर्नेसमेत बताइएको थियो । यी कुराहरुले गर्दा अब कलाकारलाई पनि कुनै राजनीतिज्ञ अथवा नेता पाहुना भएको ठाउँमा गएर बोल्न गाह्रो हुने देखिएको छ ।