
नेपालमा प्रत्येक वर्ष पौष २७ गते श्री ५ बडा महाराजधिराज पृथ्वीनारायण शाहको जन्म जयन्ती राष्ट्रिय एकता दिवसको रूपमा मनाइन्छ । यस दिनलाई मनाउने उद्देश्य राष्ट्रिय एकिकरण गर्नु र पृथ्वीनारायण शाहका विचारहरू मार्फत जनचेतना फैलाउनु हो । राजा पृथ्वीनारायण शाहकोे राष्ट्रिय अखण्डता र योगदानलाई सम्मान गर्न कार्यक्रमहरू आयोजना गरिन्छ । यसरी दाम, दाम, दण्ड, भेदको नीति लिएर त्यसबेला राष्ट्र निर्माता पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरेर यस क्षेत्रको राष्ट्रियता, स्वतन्त्रता र समानताको लागि मार्ग दर्शन गरेका थिए । नेपालमा छरिएर रहेका स–साना राज्यलाई एकीकृत गरी बिशाल राज्यको निर्माण गर्ने प्रमुख भूमिका वहाकै हो । नेपालमा ५४ राज्य भन्दा वढि राज्यहरुलाई एकिकरण गर्न सफल राजा पृथ्वीनारायण शाहले आवश्यकता पर्दा साम, दाम, दण्ड, भेदको नीति प्रयोग गर्नुभयो ।
उहाँको योगदान र दृष्टिकोणले नेपाललाई परचक्रि हुनबाट जोगाएर एकीकृत बनाएको कारण उहाँलाई ‘नेपालमा राष्ट्र निर्माता भनिन्छ । राष्ट्र निर्माताको सम्मान र इतिहास जिवन्त राख्नको लागि कार्यक्रमको आयोजना गर्ने गरिन्छ । उहाँको भौतिक शरीर नभए पनि उहाँले पु¥याएको योगदानलाई सधैं जीवित राख्नकै लागि त्यस्तो गरेको हुन सक्छ । त्यस समयमा, छिमेकी मुलुक भारत, चीन, श्रीलंका, माल्दिभ्स, बर्मा लगायत एशिया र युरोपका धेरै मुलुकहरुलाई अंग्रेजले उपनिवेश बनाइसकेको थियो र उसले हाम्रो मुलुक माथि पटक–पटक आक्रमण गर्ने प्रयास गरिरहेको समय मात्यसको प्रतिकारको लागि एउटा सशक्त र बलियो राष्ट्रको खाचो थियो । त्यस बेला पृथ्वीनारायण शाहले आफ्नो ज्यान जोखिममा राखेर स्वयं युद्धमा गई राज्य विस्तार अभियान अगाडि बढाई विशाल नेपाल निर्माणको एकीकरण अभियानको थालनी शुरु गरे । उनको अभियानलाई निस्तेज गर्नको लागि कान्तिपुरका मल्ल राजाहरुले अग्रेजहरुको सहयोग मागेको इतिहास साक्षी छ । त्यही पनि उनको दूरदृष्टि नीति र साहसको अगाडि कसैको केहीलागेन । फलस्वरुप बाह्य हस्तक्षेपबाट जोगाउनुको साथै विशाल नेपालको निर्माण गर्न सफल भए । आज विश्वका सामु गौतम बुद्ध नेपालमा जन्मिएका थिए, राजा जनक, सीता, भृकुटी, बाल्मिकी ऋषि नेपालमा जन्मिएका थिए भनेर चिनाउदछौं तर उनीहरु जन्मिने बेला नेपालमा जन्मेका थिएनन् ।
तिनीहरु जन्मेको स्थानपछि नेपाल भित्र गाभियो जसले गर्दा आज हामी विश्वका सामु गौतम बुद्ध राजा जनक, सीता, बाल्मिकी नेपालमा जन्मिएका थिए भनेर गौरवका साथ भन्ने गर्दछौं । गौतम बुद्ध जन्मेको देश कपिलवस्तु हो । राजा जनक र सीता मिथिलामा जन्मेका थिए । त्यति मात्र नभई विश्वको सर्वोच्च शिखर सगरमाथा नेपालको हो र हामी सर्वोच्च शिखर भएको मुलुक नागरिक हौ भनेर गर्व गर्छौं । यस्तो गर्व गर्ने अवसर दिने व्यक्तिलाई राष्ट्र निर्माता भनिएको हो ।
नेपाललाई बाह्य हस्तक्षेपबाट बचाउँदै विशाल नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको जन्म विस १७७९ पौष २७ गते गोरखामा भएको थियो । पिता नरभूपाल शाहको निधन पछी बि स १७९९ मा गोर्खाका राजा भएका थिए । राजा भए पछि विक्रम संवत् १८०० मा वनारस पहिलो पटक तीर्थाटन गएको बेलो अंगे्रजले भारतीय परम्परा र संस्कृति ध्वस्त पार्दै भारतीय राज्यमा शासन गरिरहेको देखेपछि । नेपाललाई पनि अंग्रेजले जसवेला पनि अक्रमण गर्न सक्छन भन्ने खतरा देखे पछि मजवुत र वलियो राष्ट्र बनाउन अभियानको लागि उतैवाट हात हतियार बनाउने कारखाना निरीक्षण गरी हतियार मर्मत गर्ने कालीगढ मुसलमानहरू र केही हात हतियार समेत ल्याएका थिए भन्ने ईतिहासमा उल्लेख गरेको पाईन्छ । पृथ्वीनारायण शाहले चलाएको एकीकरणमा मुसलमान समुदायले पनि सहयोग गरेका थिए । विशाल नेपालको एकीकरण पछि नेपालको कसरी संरक्षण गर्नुपर्छ भन्नेमा पृथ्वीनारायण शाह अत्यन्त सचेत थिए । उनले उत्तरमा ठूलो राष्ट्र चीन र दक्षिणमा ठूलो राष्ट्र भारतको बीचमा कसरी सुरक्षित भएर कस्तो कूटनीति अवलम्बन गर्नुपर्छ भन्ने उसैबेला राम्ररी बुझेका थिए । ‘चीनको बादशाहसँग ठूलो घाहा (राम्रो संबन्ध) राख्नु, दषिनको समुन्द्रको वादशाहसित घाहा त राख्नु तर त्यो महा चतुर छ । देशका महाजनहरू हाम्रा मुलुकमा आयाभन्या दुनियाँ कंगाल गरी छाड्छन्’ भन्ने कुरा उनले आफ्ना उपदेशमा उल्लेख गरेका छन् ।
पृथ्वीनारायण शाहले एकीकरण पछि सबै राज्यका जातजातिलाई एक नेपाली जातिमा समाहित गर्न सकेका र त्यो क्षेत्रका ससाना राज्यका रीति थिति, संस्कृति, धर्म, भाषा र भेषभूषालाई नेपालकै साझा सम्पत्तिका रूपमा ग्रहण गराइयो । अनेकौँ जातीय भाषाहरूको बीचमा नेपाली भाषा व्यापक भइसकेकाले सबै नेपालीको साझा भाषाका रूपमा राज्यको सरकारी भाषाका रूपमा स्वतः रूपान्तर हुँदा नेपालको राष्ट्रिय एकतामा थप बल पुग्न गयो । नेपालको राष्ट्रिय एकीकरणको अभियानमा काठमाडौँ उपत्यका विजयपछि शाक्य वंशकी कुमारीको हातको टीका लगाएर नेवार, मगर, गुरुङ, खस, ठकुरी, ब्राह्मण लगायत कामी, दमाइँ, सार्की आदि जातिहरूबाट सहयोग पुग्न गएकाले सम्पूर्ण जातजातिले आत्मसात गरेर सहयोग गर्न पुगेका थिए । यस क्षेत्रका सबै जातजातिको नेपाल एक साझा भूमि हो ।
नेपालको एकीकरण भएको बेला अहिलेको विश्वका प्रभावशाली राष्ट्रहरू टुक्रा टुक्रामा विभाजित थिए । नेपालको एकीकरण भएको १०० वर्ष पछाडि टुक्रा टुक्रामा विभाजित जर्मनीलाई विस्मार्कले एकीकरण गरे । त्यस्तै १०० वर्ष पछाडि इटालीको एकीकरण भएको र १०० वर्ष पछाडि अन्धकारमा गुज्रिरहेको जापानमा मेजी राजाको नेतृत्वमा आधुनिक जापान बन्यो । नेपालको एकीकरण हुनु भन्दा २०–२५ वर्ष सम्म पनि अमेरिका बेलायतको उपनिवेश थियोे । अमेरिका, जर्मन, इटाली, जापान लगायत यस्ता कैयौँ देशलाई अंग्रेजले आफ्नो कब्जामा राख्न सफल थियो तर नेपाललाई राख्न सकेन । पृथ्वीनारायण शाहले नेपाललाई कसरी सुरक्षित राख्ने र राज्य सञ्चालनको लागि धेरै दिव्य उपदेशमा उल्लेख गरेका छन् अतः नेपालको राष्ट्रियता तथा यहाँका राष्ट्रियताका आधारभूत मान्यताहरूलाई निरन्तरता दिलाएर नेपालको अस्मिता, एकता, सार्वभौमसत्ता अटल राख्न राष्ट्र निर्माता पृथ्वीनारायण शाहका दिव्य उपदेशहरू मनन् गरौँ । राष्ट्रमा जेसुकै व्यवस्था भए पनि राष्ट्र निर्माता फेरिँदैन । त्यसैले राष्ट्र निर्माताको सम्मानमा कन्चुस्याई नगरौं ।