दीपक रौनियारको पुजा सरः राजागञ्ज चैतमा

काठमाडौं । विभिन्न अन्तराष्ट्रिय चलचित्र महोत्सबमा छानिएको नेपाली चलचित्र ‘पूजा सर : राजागञ्ज’ अब नेपाली दर्शकमाझ आउने भएको छ ।

यो चलचित्रलाई आगामी १ चैतबाट नेपालमा रिलिज गरिने यसका निर्देशक दीपक रौनियारले बताएका छन् । चलचित्रको फस्ट लुक्स (पोष्टर) बिहिबार सार्वजनिक गर्दै चलचित्रको रिलिज मिति घोषणा गरिएको हो । यसको फस्ट लुक्समा शिर्ष कलाकार दयाहाङ राई, आशा मगराती, विजय बराल र निकिता चाण्डकलाई समेटिएको छ । जसमा दयाहाङ र आशाले प्रहरी अधिकारीको भूमिका निर्वाह गरेको निर्देशकले बताएका छन् ।

यो चलचित्रलाई रामबाबु गुरुङले निर्माण गरेका हुन् । चलचित्र पूजा सरः राजागञ्जलाई पुलिस थ्रिलर जनरामा निर्माण गरिएको पनि निर्देशक रौनियारले जनाएका छन् ।

एकजना महिला प्रहरी अधिकारीले आफ्नो जिम्मेवारी निर्वाह गर्ने क्रममा गरेका सँघर्ष र भोगेका विभिन्न घटनालाई चलचित्रको कथामा प्रस्तुत गरिएको छ । महिला प्रहरीलाई पनि सर भनिने प्रचलनको कथालाई शिर्षक बनाएर पर्दामा देखाइँदै छ ।

यो चलचित्रका अन्य कलाकारमा ऋचा शर्मा, पशुपति राई, गौमाया गुरुङ, घनश्याम मिश्रा, आरती मण्डल, पुष्पा यादवलगायत रहेका छन् । यो चलचित्र २९ औं वुसान अन्तराष्ट्रिय चलचित्र महोत्सबसहित अन्य महोत्सवमा पनि छनौटपछि प्रदर्शन भईसकेको छ । केही महोत्सवमा भने यो चलचित्रको प्रदर्शनको तयारीमा छ ।

प्रकाशित मिति : २०८१ पुष १९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस