महिला स्वास्थ्य स्वयमसेवीको अवस्थाः आशै आशमा अवकाशतिर ढल्कीयो जिन्दगी

विजौरी / जव गाउमा निलो रंगमा गोलाकार चिन्ह भएका साडिमा महिलाहरु पुग्छन्, वालवालिका गर्भवती र बृद्धबृद्धाहरुले उनीहरुलाइ डाक्टर सम्झन्छन् । किनकि उनीहरुको कामनै स्वास्थ्यवारे जानकारी लिने र स्वास्थ्य सेवावारे जानकारी दिने हो ।

दाङ जिल्लामा एकिङ तथ्यांक त छैन, तर एक हजारको हाराहारीमा त्यसरी सेवा दिनेहरु विशुद्ध रुपमा सामाजिक सेवाको अभियानमा अहोरात्र खटिएका छन् । उनीहरुलाइ अचेल सामुदायिक महिला स्वास्थ्य स्वयमसेवीका नाम दिइएको छ । उनीहरुले गाउमा वा बैठकमा जांदा निलो सारी लगाउछन् । त्यो सारीमा चारवटा घेरा हुन्छन् । एउटा घेरालाइ देशका रुपमा लिइन्छ, दोस्रोलाई जिल्ला, तेस्रोलाई पालिका र चौथो घेरालाई वडाका रुपमा संकेत गरिन्छ । सायद औपचारिक कार्यक्रममा सधै अनिवार्य रुपमा तोकिएको पोशाक लगाउने कुनै समुदाय छन् भने उनीहरु सामुदायिक महिला स्वास्थ्य स्वयमसेवीका नै हुन् ।

गरिखाने उमेर तोकिएको टोलमै घुमेर वित्न थालेको उनीहरुलाई पत्तै छैन । वोलायोकि फेरी सम्झाउनु पर्दैन । ठिक समयमा ठिक स्थानमा सहभागि हुने उनीहरुको वानी परिसकेको छ । तर राज्यले उनीहरुलाई आत्मसम्मान होइन उपयोग मात्रै गरिरहेको छ । एउटा बैठक वा कार्यक्रममा सहभागि बनाएवापत उनीहरुले पाउने सुविधा मात्रै चार सय रुपैया हो । अनि बर्षभरीको पोशाक भत्ता ६ हजार मात्रै । तैपनि उनीहरुको आक्रोश छैन सरकारसंग ।

‘हामी आक्रोशित छैनौं, तर राज्यप्रति आशावादी छौं किनकि हामीले राज्यलाइ धेरै लगानी गरेका छौं’ तुलसीपुर उपमहानगरपालिका–१८ कि सामुदायिक महिला स्वास्थ्य स्वयमसेवीका भगवता उपाध्यायले भनिन् । उनी विगत बीस बर्षदेखि यो सेवामा छिन् । उनको जिम्मामा तुलसीपुर–१८ को दुम्नागाउँ टोल विकाश संस्था रहेको छ । सो टोलमा करीव करीव ४ सय घरधुरी छन् । सरकारले आफ्नो सेवा सुविधा बढाउला भन्ने भवगतालाइ अझैपनि आशा छ । हरेक बर्षको बजेट भाषणमा महिला स्वास्थ्य स्वयमसेवीकाका वारेमा केहि बोलिएको छ कि भनेर हेर्छिन, नगरपालिकाको बार्षिक निति तथा कार्यक्रमका पन्ना दोहोराई तेहराई हेर्छिन्, तर तीनै तहका सरकार भगवता जस्ता हजारौं सामुदायिक महिला स्वास्थ्य स्वयमसेवीकाको बृत्ति विकाश र गुजारा भत्ता उपलव्ध गराउने सन्दर्भमा बोलेका छैनन् ।

भगवता जस्तै तुलसीपुरकै राधिका भुषाल पनि यो सेवामा जोडिएको करीव डेढ दशक नाघेको छ । आफुलाइ तोकिएको टोलभरी घुम्ने, गर्भवतीलाइ आइरन चक्कि खान लगाउने, गर्भवतीको नियमित स्वास्थ्य जांच गराउन भन्ने, गर्भवती भएको घरमा चिन्ह लगाउने, नियमित चेकजांच गराउन लगाउने, नवजात शिशुलाइ पोशिलो खाना खुवाउन लगाउने, स्वास्थ्य समस्या भए स्वास्थ्य संस्थामा पठाउने, नियमित रुपमा बच्चा र गर्भवतीलाइ खोपाउन लगाउने जस्ता थुप्रै काम गर्छिन राधिका । तर राधिकाले पाउने सेवा सुविधा पनि त्यहि भगवताको जस्तै हो ।

उनी पनि सरकारप्रति आशावादी छिन् । ‘होलाकि भन्दाभन्दै उमेर ढल्कियो, तर हामीले गरेका आशाहरु पुरा हुन सकेका छैनन्’, राधिकाले भनिन्, कम्तिमा गुजारा भत्ता उपलव्ध गराए हामीहरु आत्मसम्मानका साथ यो पेशामा अडिन सक्थ्यौं ।’ हो, अहिले नेपालको स्वास्थ्य चलेको छ भने यीनै महिला स्वास्थ्य स्वयमसेवीकाहरुको कामका कारण । योजना आयोगले तथ्यांक लिएर योजना निर्माण गर्ने पनि यीनैले दिएको तथ्यांकले हो । कोभिड खोप कति आवस्यक पर्छ भनेर स्वास्थ्य कार्यालय वा स्वास्थ्य संस्थाले तथ्यांक लिने पनि यीनीबाटै हो । कुनै महामारी आए सवैभन्दा तल्लो तहमा परीचालित हुने भनेका पनि यीनै हुन् । तर यिनिहरुको जिविकोपार्जन कसरी चलेको छ भन्नेमा सरकारको ध्यान जान सकेको छैन । निरिह बनेर समाजसेवामा अहोरात्र खटिइरहेका छन् महिला स्वास्थ्य स्वयमसेवीकाहरु ।

न स्थाई नियुक्ती, नत मासिक तलव, न उपदान, न पेन्सन् । खालि सिजनल बैठकको भत्तामा मात्रै चित्त बुझाउन बाध्य छन् यी स्वास्थ्य स्वयमसेविकाहरु । ‘पोशाक भत्ता दश हजार पाउनेले कार्यालयमा नियमित रुपमा पोशाक लगाएको पाइदैन, तर आधा मात्रै पोशाक भत्ता पाउने यीनीहरु कहिल्यै कार्यक्रममा आउटडे«स आउने गरेका छैनन’, तुलसीपुर उपमहानगरपालिका–१७ का थलराज पुरीले भने ।

भगवता र राधिका त प्रतिनिधि पात्र मात्रै हुन् । उनीहरु जस्तै कम्तिमा एक लाख भन्दा बढि सामुदायिक महिला स्वास्थ्य स्वयमसेवीकाहरु यसरीनै नागरिकको स्वास्थ्य सेवामा अहोरात्र खटिइरहेका छन् । खासमा उनीहरुको काम भनेको नेपाल सरकारले उपलव्ध गराउने जुनसुकै स्वास्थ्य सेवामा नागरीकहरुको पहुच स्थापित गराउने रहेको स्वास्थ्य कार्यालय दाङका निमित्त प्रमुख किशोर आचार्यले बताए ।

पहिले जिल्ला स्वास्थ्य कार्यालयको माताहतमा रहने यी महिला स्वास्थ्य स्वयमसेवीकाहरु मुलुकमा संघियता आएसंगै स्थानिय पालिकामा गाभिएका छन् । पालिकाहरुले उनीहरुको गुजाराका लागी केहि राहत प्याकेज ल्याएपनि खासमा जिवन गुजारा हुने आर्थिक व्यवस्थापन उनीहरुको हुन सकेको छैन ।

स्थानिय पालिकाले पछिल्लो केहि समय यता उमेरको हदवन्दीका कारण विदाई गर्नुपर्दा केहि रकम आफुले थप गरेर विदाई गर्ने गरेका छन् । ‘उनीहरुको दैनिकिमा केहि सहज होस भनेर अवकाश प्राप्त महिला स्वास्थ्य स्वयमसेवीकाहरुलाई एकमुष्ठ रुपमा ५० हजार रुपैया दिने गरेका छौं’ दंंगिशरण गाउपालिकाका अध्यक्ष सम्भु गिरीले बताए । दंगिशरण गाउपालिका जस्तै अन्य पालिकाहरुले पनि विदायी गर्दा केहि रकम दिने गरेपनि उनीहरुलाई आत्मसम्मान हुने गरी पेषागत अवधारणामा ल्याउन भने तीनै तहका सरकारहरु सकारात्मक देखिएका छैनन् ।

प्रकाशित मिति : २०८१ पुष १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस