काठमाडौ। प्रतिनिधिसभा बैठक आजै ५ बजे सम्मका लागी स्थगित भएको छ । आज अपरान्ह ४ बजे संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने र ५ बजे प्रतिनिधि सभाको अर्को बैठक बस्ने सभामुख डोलप्रसाद अर्यालले जानकारी दिनुभयो । आज बसेको प्रतिनिधि सभा बैठकमा बालेन्द्र शाह नेतृत्वको सरकारले जारी गरेका ८ अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक पेस भएका छन् ।
सिंहदरबारस्थित संसद् भवनमा चलिरहेको प्रतिनिधिसभा बैठकमा ती अध्यादेश प्रतिस्थापन विधेयक पेस भएका हुन् ।
प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले ३ अध्यादेश प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा पेस गर्नुभएको हो ।
मन्त्री गौतमले सार्वजनिक खरिद (दोस्रो संशोधन)अध्यादेश, २०८३ , सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३, र ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)(पहिलो संशोधन) अध्यादेश, २०८३ को प्रतिस्थापन विधेयक पेस गर्नुभयो । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ गर्नुभएको हो ।
त्यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले ‘सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३, स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले ‘विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ पेस गर्नुभएको हो।


