ब्लड प्रेसर नाप्ने सही तरिका के हो ?

बढ्दो तनाव र बदलिंदो जीवनशैलीले धेरै मानिसलाई सानै उमेरमा दीर्घरोगको सिकार बनाइरहेको छ । तनाव र खराब जीवनशैलीका कारण देखा पर्ने एउटा प्रमुख समस्या उच्च रक्तचाप पनि हो ।

रक्तचाप एउटा यस्तो रोग हो जसलाई नियन्त्रण गर्न सकिएन भने हृदयघात वा मस्तिष्कघातजस्ता स्वास्थ्य सम्बन्धी धेरै समस्याको जोखिम बढ्न सक्छ । त्यसैले रक्तचापका बिरामीले आफ्नो रक्तचाप नियन्त्रण गर्नु महत्त्वपूर्ण हुन्छ ।

कम वा बढी रक्तचाप दुवै खतरनाक हुन्छ । कसैलाई कम रक्तचापको समस्या हुन्छ भने कसैलाई उच्च रक्तचाप । रक्तचापलाई नियन्त्रणमा राख्न यसको जाँच समय समयमा गर्नु आवश्यक हुन्छ ।

कति हुनुपर्छ ब्लड प्रेसर ?

सामान्य अवस्थामा माथिको सिस्टोलिक ब्लड प्रेसर १२० र तलको डायस्टोनिक ब्लड प्रेसर ८० हुनुपर्छ । माथिको रक्तचाप १४० भन्दा बढी वा तलको ब्लड प्रेसर ९० भन्दा बढीलाई उच्च रक्तचाप भनिन्छ । माथिको रक्तचाप ९० भन्दा कम र तलको ६० भन्दा कम छ भने त्यसलाई कम रक्तचाप भनिन्छ ।

प्रेसर नाप्ने तरिका

हतारमा क्लिनिक वा अस्पताल पुग्ने बित्तिकै रक्तचाप जाँच गराउनु हुँदैन । हिंडडुल, दौडिएको वा व्यायाम गर्ने बित्तिकै तुरुन्त रक्तचाप परीक्षण गर्नुहुँदैन । केही समय पनि आराम गरिसकेपछि मात्र रक्तचाप जाँच गर्नुपर्छ ।

प्रेसर नाप्नु भन्दा लगभग आधा घण्टा अगाडि चिया, कफी वा चुरोट सेवन गरेको हुनु हुँदैन । यसले प्रेसर बढेको देखिन सक्छ । चिकित्सकले रक्तचाप नापिरहेको बेला कुराकानी गर्नु हुँदैन । रक्तचाप नाप्दा निहुरिएर वा उत्तानो परेर बस्नु हुँदैन, सिधा बस्नुपर्छ ।

पिसाब लागेको बेला रक्तचाप नाप्नु हुँदैन । खुट्टालाई उपरखुट्टी लगाउनु हुँदैन । यी कुरा गरेमा रक्तचापको सही मापन देखाउँदैन । यस्तो अवस्था रक्तचाप जाँच गर्दा उच्च वा गलत मापन देखाउने सम्भावना हुन्छ । घरमा जाँच गर्दा पनि यी कुरामा ध्यान दिनुपर्छ । सकेसम्म खुट्टाले जमिन टेकेको वा बसेको स्टुलको टेक्ने ठाउँमा आड लागेको हुनुपर्छ ।

रक्तचाप परीक्षण गर्नुअघि पाँच मिनेट शान्तसँग बस्नुपर्छ । रक्तचाप परीक्षणका क्रममा शान्त बस्न नबोलीकन र शरीर सिधा बनाएर बस्नुपर्छ । रक्तचाप परीक्षण गराउँदा बीपी कफले रक्तचाप नापिने व्यक्तिको पाखुराको छाला छोएको हुनुपर्छ । लुगाबाहिर रक्तचाप नाप्ने मेसिनको कफ (बीपी कफ)लाई बाँध्नु हुँदैन । त्यसमाथि बीपी कप बाँधियो भने सही मापन नआउन सक्छ ।

रक्तचाप जाँच्दा आरामसँग कुर्सीमा बस्नुपर्छ । कुर्सीमा बस्दा खुट्टाले भुईं टेकेको हुनुपर्छ भने दुवै हात टेबलमा मुटुको उचाई हाराहारीमा राखिएको हुनुपर्छ । दायाँ वा बायाँ दुवै हातबाट रक्तचाप जाँच्न सकिन्छ । यो पोजिसनमा केही समय बसेपछि मात्रै रक्तचाप जाँच गर्नुपर्छ । यसो गर्दा बीपीको मापन सही हुन्छ ।

रिङ्गटा लाग्ने व्यक्तिले सुतेरै रक्तचाप जँचाउन सक्छन् । सुतेर ब्लड प्रेसर जाँच्दा बसेको तुलनामा कम देखाउँछ । तसर्थ रक्तचाप नाप्दा सटिक नतिजा आओस् भन्ने चाहनुहुन्छ भने कुर्सीमा बसेरै नाप्नुपर्छ । बसाइ स्थिति गलत छ भने रक्तचाप मापनमा तलमाथि हुनसक्छ ।

प्रेसर जाँच गर्दा जुन हात बढी प्रयोग हुन्छ त्यो हातमा जाँच गर्नुपर्छ । यदि दाहिने हात धेरै चलाइन्छ भने दाहिने हातमा र देब्रे हात बढी चलाइन्छ भने देब्रे हातमा प्रेसर जाँच गर्नुपर्छ । किनकि कम प्रयोग हुने हातमा प्रेसर कम हुन्छ ।

डिजिटल मेसिनले घरमा प्रेसर नाप्ने हो भने पहिलो मापनलाई छोडेर दोस्रो पटक त्यही हातमा नापेर निस्किएको मापनलाई सही मान्नुपर्छ ।

उपवास बसेको दिन प्रेसर नापियो भने पनि कम आउँछ । कुनै बिरामीले व्रत बसेको दिन प्रेसर नापेर कम आएको छ अब औषधि छोड्न मिल्छ भनेर पनि प्रश्न गर्छन् । तर व्रत बसेको दिन भन्दा अन्य सामान्य दिनमा नापेर मात्र सही नतिजा आउँछ ।

प्रकाशित मिति : २०८१ मङ्सिर ११ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस