कस्तो मासु खादा मानिसलाई निकै फाइदा पुर्‍याउँछ?

काठमाडौँ : मासुमा आइरनसहित भिटामिन ‘ए’, ‘डी’, ‘ई’ र केही मात्रामा भिटामिन ‘बी’ र जिङ्कसमेत पाइन्छ। जसको सेवनले मानिसलाई निकै फाइदा पुर्‍याउँछ ।

तर मासुको सेवनमा जथाभाबी गर्ने र होसियारी नअपनाउने हो भने अस्वस्थ मासुकै कारण हाम्रो शरीरमा डेढ सय भन्दा बढी प्रकारका रोगको सङ्क्रमणको खतरा हुनसक्ने चिकित्सकको भनाइ छ।

हामी केही टिप्स दिँदै छौँ, जसमा उमेरअनुसार कति मासु खाने त्यसको जानकारी मिल्दछ।

– एक वयस्क व्यक्तिलाई प्रत्येक दिन ६० देखि ७० ग्राम प्रोटिन चाहिन्छ । वयस्कहरूले हप्तामा एक दिन चिल्लो र छालारहित मासु सेवन गर्न सकिन्छ । वयस्क व्यक्तिलाई हप्तामा एक दिन मात्र मासु खानु स्वास्थ्यका हिसाबले राम्रो मानिन्छ।

– बच्चालाई दैनिक २५ देखि ३० ग्राम प्रोटिन आवश्यक हुन्छ । बढ्ने उमेर भएका बच्चालाई अधिक मात्रामा प्रोटिन र आइरनको आवश्यकता पर्दछ । त्यसैले बच्चालाई पचाउन सक्ने गरी मासु खुवाउन सकिन्छ । तर एकै पटकमा धेरै मासु दिनुभन्दा थोरै थोरै गरेर दिएको मासुले लाभ दिन्छ।

– १८ वर्षसम्मका किशोर–किशोरीले रातो मासु खाँदा कुनै असर गर्दैन । तर त्योभन्दा बढी उमेर समूहका मानिसले भने शरीर, दैनिक क्रियाकलाप र स्वास्थ्य अवस्थाअनुसार मात्र केही मात्रामा रातो मासु खान सक्छन् । रातो मासु भन्नाले खसी र राँगाको मासु पर्दछ भने कुखुरा र माछाको मासुलाई सेतो मासु भनिन्छ ।

– सुत्केरी, गर्भावस्थाका महिलालाई दैनिक ६० देखि १०० ग्राम प्रोटिन आवश्यक हुन्छ । साथै मासुमा हुने आइरनले सुत्केरी र गर्भवती महिलाहरूलाई शरीरमा रगतको पूर्तिका लागि मद्दत गर्छ । त्यसैले यस्तो अवस्थामा अन्य सन्तुलन भोजनसँग मिलाएर मासु सेवन गर्दा राम्रो मानिन्छ।

प्रकाशित मिति : २०८१ मङ्सिर ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस