यम शेर्पाको लेखन तथा निर्देशनमा तयार भएको फिल्म ‘कार्साङ्’ आगामी पुष २६ गतेबाट प्रदर्शनमा आउने भएको छ । मंगलबार पहिलो पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको हो । पोस्टरमा फिल्मका शीर्ष अभिनेता दयाहाङ राई र नव–अभिनेत्री सिर्जना निङलेखु प्रस्तुत छन् । सुरुवाल मात्र लगाएर रिसाएको भावमा देखिएका उनको कसैसँग ठूलै झगडा भएको प्रष्ट बुझिन्छ ।
दयाहाङको छेउमा उनकी श्रीमतीको भूमिकामा रहेकी सिर्जना आँगनमा बसेर रोइरहेकी छन् । बिर्को खोलिएको ग्यालिनबाट पानी पोखिएको छ । आँगनको एक छेउमा आगो पनि दन्किरहेको छ । पृष्ठभूमिमा दुईवटा घर देखिन्छन् । एक घरको माथिल्लो भागको बाहिर मकैका झुता झुन्डिएका छन्, जसले उनीहरूको आर्थिक अवस्थालाई दर्शाउँछ । पोस्टरले बलियो दृश्यभाषाको संकेत गर्छ ।
शेर्पा समुदायको संस्कृतिमा आधारित भएर बनेको फिल्ममा दयाहाङ र सिर्जनासहित दीया मास्के, जितु नेपाल, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन, सुरवीर पण्डित लगायतको अभिनय छ । पुरुषोत्तम प्रधानको छायांकन रहेको फिल्मका निर्माता प्रधान स्वयं हुन् । यसमा सह–निर्माता गोविन्द बोहरा, कार्यकारी निर्माता आङछिरिङ शेर्पा तथा लाइन प्रोड्युसर वीरेन्द्र शाही हुन् ।