असोजमा फिल्मको चाप, भिड्न सक्छन् ‘छक्का पञ्जा ५’ र ‘१२ गाउँ’

गत बैशाख र जेठ महिनामा फिल्म रिलिजको उल्लेख्य चाप देखियो । वर्षातको महिना भएकाले असारमा भने केही कमी आएको छ । फेरि साउनमा रिलिजको बाढी छ । भदौ त्यसै पनि रिलिजका लागि उत्तम भइहाल्यो । यसैले लगभग हप्तैपिच्छे फिल्म रिलिज हुँदैछन् । सबैभन्दा ठूलो चाप भने असोजमा देखिँदैछ । कुनै फिल्म दायाँबायाँ नभए यो महिनामा मात्र रिलिजको संख्या ७ पुग्नेछ ।

असोजको पहिलो हप्ता नै ठूलो भिडन्त हुँदैछ । संविधान दिवसको विदा छाप्दै असोज ३ गते ‘ह्रस्व दीर्घ’, ‘खुस्मा’ र ‘आउट ल’ गरी तीनवटा फिल्म रिलिजको तयारीमा छन् । यो मितिमा आउँदा यी फिल्मले असोज ९ गते जितिया पर्वको अर्को विदा पनि भेट्नेछन् । यसैले असोज ३ मा त्रिपक्षीय भिडन्त हुन लागेको हो । यी तीनवटै फिल्मका निर्माताहरु यो मितिबाट टसमस हुने देखिएको छैन ।

असोज ११ गते भने नेपाली फिल्म लाग्ने छैनन् । किनकि, यो मितिमा साउथ सुपरस्टार जुनियर एनटीआरको फिल्म ‘देवरा’ आउँदैछ । पहिला यो मितिमा ‘ह्रस्व दीर्घ’ आउने तय थियो । तर, ‘देवरा’को डरले एक हप्ता अघि सर्‍यो । यो फिल्म आएको एक हप्तापछि दशैं लाग्नेछ । दशैं भनेको फिल्म रिलिजका लागि सबैभन्दा उक्त समय हो । र, यसपालिको दशैंमा रिलिजको ठूलो चाप देखिँदैछ ।

असोज १७ गते फूलपातीमा निश्चल–स्वस्तिमा दम्पतीको ‘बेहुली फ्रम मेघौली’ र ‘चपली हाइट’ निर्माता अर्जुन कुमारको ‘सानो संसार’ भिड्ने तयारीमा छन् । यसपछि असोज २४ गते फूलपातीमा फिल्म ‘छक्का पञ्जा ५’ रिलिज हुँदैछ । अभिनेता विराज भट्टको फिल्म ‘१२ गाउँ’लाई पनि दशैंमै रिलिज गरिँदैछ । तर, यसको दिन भने तोकिएको छैन । सम्भवतः ‘छक्का पञ्जा ५’सँग भिडन्त हुनसक्छ ।

विगतमा असोज महिनामा रिलिजको चाप यतिविघ्न देखिएको थिएन । दशैं ९घटस्थापना र फूलपाती०मा समेत बढीमा दुईवटा फिल्म रिलिज हुन्थे । गत वर्ष यही भएको थियो । तर, यसपटक असोजमा सार्वजनिक विदा धेरै हुनु र यस वर्ष फिल्म निर्माणको चाप पनि बढेकाले भिडन्तको अवस्था आएको हो । यद्यपि, अहिले एउटै मितिमा दुईवटा फिल्मसम्म आउँदा बजारले धान्न सक्ने अवस्था छ ।

प्रकाशित मिति : २०८१ असार २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस