‘दान्भी’लाई सुखद् शोज, ओपनिङ पूजाको काँधमा

नेपालमा महिला केन्द्रित एक्सन फिल्म विरलै बन्छन् । एक समय यसको नेतृत्व अभिनेत्री रेखा थापाले गरेकी थिइन् । उनीपछि भने अभिनेत्रीलाई लिएर एक्सन फिल्म बनाउन मेकरहरुले खासै इच्छा देखाएनन् । न त अभिनेत्रीहरुको एक्सनप्रति रुचि देखियो । अब लामो समयपश्चात् महिला केन्द्रित एक्सन फिल्म आउँदैछ । त्यो हो, ‘दान्भी’ । यसमा अभिनेत्री पूजा शर्मा एक्सन भूमिकामा छिन् ।

भोलि शुक्रबार (असार ७ गते) देखि प्रदर्शनमा आउन लागेको फिल्मको ट्रेलरले दर्शकमा एकखालको उत्साह बढाएको छ । यसले फाइदा फिल्मको व्यापारमा पर्नसक्ने प्रक्षेपण गरिएको छ । यसैबीच, देशभरका मल्टीप्लेक्सहरुमा बुधबारबाट फिल्मको बुकिङ खुलेको छ । र, फिल्मले राम्रो शोज पाएको छ । देशकै ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले मात्र फिल्मलाई ४७ शोज बाँडेको छ ।

त्यसैगरी, आईएनआई सिनेमाजले १२ शोज, वान सिनेमाजले ७ शोज, बिग मुभिज, रञ्जना सिनेप्लेक्स र बिएसआर मुभिजले समान ४ ४ शोज, एफएक्युब र सिडिसी सिनेमाजले समान ३ ३ शोजसहित फिल्मले देशभर डेढ सय शोज पाएको जनाइएको छ । शोज संख्या हेर्दा फिल्मप्रति प्रदर्शक (हल व्यवसायी)हरुले ठूलो आशा राखेको देखिन्छ । यसको प्रमुख कारण पूजाको ‘स्टार’ छवि पनि हो ।

फिल्मलाई अब सबैभन्दा ठूलो चुनौती भनेको प्राप्त शोजमा दर्शक भराउनु हो । त्यो हुँदा फिल्मले राम्रो ओपनिङ हासिल गर्न सक्नेछ । र, यसको जिम्मेवारी पूजा शर्माको काँधमा देखिन्छ । किनकि, फिल्ममा ‘स्टार’ कलाकार उनी मात्र हुन् । अरु नयाँ छन् । आफ्नो स्टारडम प्रमाणित गर्ने उनलाई यो राम्रो अवसर पनि हो । आइतबारबाट भने फिल्मको भविष्य ‘वर्ड अफ माउथ’ले निर्धारण गर्नेछ ।

रुपेश तामाङको निर्देशनमा बनेको फिलममा पूजासँगै कुन्साङ बोम्जन र किरण श्रेष्ठको पनि मुख्य भूमिका छ । हरि बहादुर घलेको छायांकन रहेको फिल्ममा रविना थापा मगरको कथा, संजोग कुवँर रानाको पटकथा तथा संवाद लेखन, अर्जुन पोखरेल, नरेश जोशी र केदारराज नेपालको संगीत छ । फिल्मको निर्मातामा देव मगर र अनुप गडाल छन् भने कार्यकारी निर्माता पवन राना मगर हुन् ।

प्रकाशित मिति : २०८१ असार ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस