काठमाडौं– घनश्याम लामिछाने निर्देशित नयाँ नेपाली फिल्म ‘लण्डन टु पेरिस’ को ट्रेलर सार्वजनिक भएको छ । आइतवार ओएसआर डिजिटलको युट्यूब च्यानलबाट फिल्मको तीन मिनेट लामो ट्रेलर सार्वजनिक भएको हो ।
ट्रेलरमा डेब्यू अभिनेता निश्चल खड्काको अभिनेत्री साम्राज्ञी आरएल शाह तथा डेब्यू अभिनेत्री गरिमा शर्मासँगको त्रिकोणात्मक प्रेम सम्बन्धलाई देखाइएको छ । निश्चलको साथीको रुपमा देखिएका कविरलाई पनि ट्रेलरको अन्तिममा गरिमाको प्रेममा परेको देख्न सकिन्छ । जसले दर्शकलाई फिल्मप्रति कौतुहलता जगाउन सफल हुने देखिन्छ ।
यो फिल्मले ट्राभल लभ स्टोरीको कथा प्रस्तुत गरेको छ । फिल्मको को कथा, पटकथा र संवाद प्रदीप भारद्वजले लेखेका हुन् । यो फिल्ममा साम्राज्ञी, निश्चल र गरिमासहित कविर खड्का, रुष्मा थापा, मनिश श्रेष्ठ तथा मनिष गान्धीको प्रमुख अभिनय रहेको छ । निश्चल र गरिमाले यही फिल्मबाट डेब्यू गरेका हुन् ।
एबी इन्टरनेश्नलको प्रस्तुति रहेको यो फिल्ममा गौतम प्रोडक्शन र अर्चिड भेस फिल्मस् लिमिटेडको निर्माण सहकार्य रहेको छ । अमित बस्नेतले निर्माण गरेको यो फिल्ममा आरोन बस्नेत, एरियाना बस्नेत तथा परी राना निर्माताका रुपमा रहेका छन् ।
सनिश खकुरेल र अजित केआर थापा फिल्मको सह–निर्माता हुन् भने अंकित गौतम, सुरज कुँवर र विजय भण्डारी यसका कार्यकारी निर्माता हुन् । यो फिल्म यही जेठ २५ गतेदेखि प्रदर्शनमा आउने छ ।
यो फिल्ममा अभेद परवको डिओपी, हर्कुलश बस्नेत, एसडी योगी, बियोण्ड र सलिन मगरको संगीत, सजु चन्द्रनको सम्पादन, सुजिल कर्माचार्यको पाश्र्व संगीत, लंगनेस फर्नान्डेजको कोरियोग्राफी, साहिल खानको ट्रेलर, विजय बस्यालको पोस्टर डिजाइन, मुख्य सहायक निर्देशकमा फिरोज खड्का रहेका छन् । रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले यो फिल्मलाई नेपालभर वितरण गर्नेछन् ।


