प्रदीप र दिव्याले सुरु गरे ‘एक्टर’को छायांकन

अभिनेता प्रदीप खड्का र नव–अभिनेत्री दिव्या रायमाझीले फिल्म ‘एक्टर’को छायांकन सुरु गरेका छन् । पोखरास्थित विन्दाबासिनी मन्दिरमा शुक्रबार पूजाआजा गरेपछि फिल्मको छायांकन सुरु गरिएको हो । फिल्मको पहिलो सट प्रदीप र दिव्याले दिएका छन् । पोखरामा १० दिन छायांकन हुने निर्माता थमन कुमार भण्डारीले जानकारी गराए । त्यसपछि बाँकी छायांकन काठमाडौंमा हुनेछ ।

राजन भुसालको डेब्यु निर्देशनमा बन्न लागेको फिल्ममा प्रदीप र दिव्यासहित राजबल्लभ कोइराला, दिव्यदेव, आना शर्मा, सुशील सिटौला लगायतको अभिनय रहनेछ । राजबल्लभले यही फिल्मबाट करिब दश वर्षपछि कमब्याक गर्न लागेका हुन् । यतिबेला अमेरिकामा रहेका उनी केही दिनभित्रमा नेपाल आउँदैछन् । दुई हप्ताअघि हवन यज्ञसहित फिल्मको शुभमुहूर्त गरिएको थियो ।

फिल्मलाई यस वर्षको तिहारको अवसर पारेर कात्तिक १५ गते लक्ष्मीपूजामा रिलिज गर्ने तयारीमा निर्माण टिम छ । फिल्मको सह–निर्मातामा एनिस भुसाल र सार्थक केसी छन् । अदृत फिल्म्सको प्रस्तुति रहेको फिल्मका छायाँकार नरेन्द्र मैनाली हुन् । फिल्ममा प्रदीपले कलाकारकै भूमिका निर्वाह गर्नेछन् । दिव्याको भने यो पहिलो फिल्म हो । उनी अभिनेता दीलिप रायमाझीकी छोरी हुन् ।

प्रकाशित मिति : २०८१ बैशाख २८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस