‘होस्टेल ३’ बाट फिल्ममा डेब्यु गर्दै ‘कुल ब्वाय’

‘कुल ब्वाय’ को नामबाट चर्चित पारस बमले फिल्ममा डेब्यु गर्ने भएका छन्।

टिकटकर हुँदै इन्टरनेटमा ‘भिडियो कन्टेन्ट क्रिएटर’ को रूपमा चर्चित उनी सफल फिल्म ‘होस्टेल’ को तेस्रो शृंखला ‘होस्टेल ३’ मा अनुबन्धित भएका हुन्।

उनलाई फिल्मको महत्वपूर्ण भूमिका र प्रमुख पात्रहरूमध्ये एकको लागि लिइएको निर्देशक सशान कँडेलले बताए।

होस्टेलमा बसेर अध्ययन गरिरहेका ‘टिनएजर्स’ र उनीहरूको भविष्यका घटनाहरूमा आधारित रहेर बन्न लागेको यस फिल्मबाट डेब्यु गर्न लागेका पारस गायक समेत हुन्। उनका ‘कान्छी कता हिँडेको’, ‘बुवाको नाक होस्’ लगायतका गीतहरू चर्चित छन्।

स्क्रिप्टले मागेको पात्रमा कुल ब्वाय सबै पक्षबाट उत्तम लागेकाले अनुबन्ध गरिएको निर्देशक कँडेलले बताए। उनले अघिल्ला भागहरूमा जस्तै ‘होस्टेल ३’ बाट पनि केही कलाकारको फिल्ममा उदय हुने जनाए।

‘होस्टेल’ बाट अनमोल केसी, सलोन बस्नेत, प्रकृति श्रेष्ठ लगायतका कलाकारहरूले डेब्यु गरेका थिए। त्यस्तै, ‘होस्टेल रिटर्न्स’ बाट स्वस्तिमा खड्का, सुशील श्रेष्ठ, नजिर हुसेन, सुशील सिटौला लगायतका कलाकारहरूले डेब्यु गरेका थिए। उनीहरू सबै नेपाली फिल्मका सफल कलाकारहरू बनिसकेका छन्।

‘होस्टेल ३’ को लागि माधव शर्माले स्क्रिप्ट लेखेका छन्। यसको कथा भने निर्देशक कँडेलले नै लेखेका हुन्। यसअघि बनेका ‘होस्टेल’ र ‘होस्टेल रिटर्न्स’ लाई सुनील रावलले बनाएका थिए भने ‘होस्टेल ३’ लाई सम्मान इन्टरटेन्मेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा बनाउन लागेको हो।

फिल्मको निर्मातामा शिशिर ज्ञवाली, कार्यकारी निर्माता शङ्कर कोइराला, सह निर्माताहरू सुधा मरहट्ठा, सुरेश कँडेल र अर्जुन सापकोटा छन्।

यस वर्षको अन्त्यतिर फिल्म प्रदर्शनको लक्ष्य राखेर तयारी अगाडि बढाइएको छ।

प्रकाशित मिति : २०८१ बैशाख २१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस