
काठमाडौं– आसुसेन फिल्मस्को मेगा प्रोजेक्ट फिल्म ‘बलिदान’ का केही कलाकारहरूका लागि अडिसन आह्वान गरिएको छ । निर्देशक तथा निर्माता सन्तोष सेनले आइतवार इच्छुक तथा योग्य व्यक्तिले खुल्ला प्रतिस्पर्धात्मक अडिसनका लागि सम्पर्क गर्न आह्वान गरेका छन् ।
प्रमुख नारी पात्रको भूमिकामा परिवेश सुहाउँदो र एक पुरुष कलाकार आवश्यक परेकोले अडिसनबाट नै छनोट गर्न लागेको निर्देशक सेनले बताए । निर्देशक सेनले महिला पात्रको लागि अन्दाजी २१ देखि ३२ वर्ष उमेर समूहकी मधेसी संस्कृति र सौन्दर्य झल्काउन सक्ने लुक्स भएकी, साहस र कुटिलता झल्किने हाउभाउ र चालढाल भएकी तथा एक्सन प्रधान भूमिका निर्वाह गर्न सक्ने कलाकारको खोजी भएको बताए ।
त्यस्तै, पुरुष पात्रको लागि अन्दाजी २८ देखि ५५ वर्ष उमेर समूहको कलाकारको खोजी भएको हो ।
अडिसनमा सहभागि हुन महिला कलाकारसँग मोटरबाइक हाँक्न सक्ने र मार्सल आर्टको सिप हुनु पर्नेछ भने पुरुष र महिला दुवै कलाकारले नेपाली भाषामा मैथिली उच्चारणसहित संवाद बोल्न सक्नु पर्नेछ । पूर्वी नेपालका इटहरी, विराटनगर र जनकपुर क्षेत्रका कलाकारले प्राथमिकता पाउने जनाइएको छ ।
आवेदन दिने अन्तिम मिति २०८१ वैशाख मसान्तलाई तोकिएको छ ।
अडिसनमा सहभागी हुन आसुसेन फिल्मसको आधिकारिक इमेल ठेगाना inbox.aasusenfilm@gmail.com मा र ह्वाट्सएप मेसेन्जर नम्बर 9811840082 मा सन्देश मार्फत सम्पर्क गर्न सकिने छ ।
‘बलिदान’ को प्रमुख भूमिकामा समीर भट्टले डेब्यु गर्दैछन् । यो फिल्ममा यसअघि अभिनेताद्वय सौगात मल्ल र अर्पण थापा तथा अभिनेत्री ऋचा शर्मा अनुवन्ध भइसकेका छन् । सबै स्टार कलाकारहरूको अभिनय रहने यो फिल्मलाई लिएर ठूलो अपेक्षा गरिएको छ । ‘बलिदान’ को टीजर छायाङ्कनअघि नै सार्वजनिक भएर चर्चामा रहेको छ ।
यसैवर्ष प्रदर्शनमा आउने ‘बलिदान’ इटहरीमा सेट डिजाइनको काम भइरहेको छ । शनिवार सेट तयार गरिने विभिन्न स्थानहरूमा भूमि पुजा गरिएको थियो । यसको छायाङ्कन करिब ६० प्रतिशत स्टुडियोमा नै हुँदैछ ।
देशको अस्मिता जोगाउन एक युग पुरुष कसरी जन्मिछ भन्ने कथाको वरपर यो फिल्म केन्द्रित रहने निर्देशक सेनले बताएका छन् । यो फिल्मलाई एक सार्वभौम महाकथा भन्दै सेनले परिवर्तन र पहिचानका नाममा सोझा जनतालाई रक्तपातपूर्ण आन्दोलनमा होमिन लगाई बलिको बोको बनाउने र यसरी हत्याइने राज्य शक्तिमा आफैँ ढलीमली गर्दै राज्यको अस्मिता लुट्ने कुटिल व्यक्तिहरूलाई सिद्ध्याउनै पर्ने बेला आइसक्यो भन्ने सन्देश प्रदान गर्ने जनाए ।
आसुसेन फिल्मस् प्रालि तथा सन्तोष सेनको प्रस्तुति रहने यो फिल्ममा निर्माताको रूपमा पवन ब्राडफोर्ड बिस्ट तथा सह निर्माता प्रेम पुरी रहेका छन्।