एसईई सकियो : सक्षमताको लागि सात टिप्स !

कक्षा दश अर्थात एसईईको परीक्षा भर्खरै सकिएको छ । बिद्यार्थी, अभिभावक र विधालय तीनै पक्षले हल्का भएको महसुस गरेका हुन्छन् । विद्यार्थीहरु त झन स्कुले जीवनको यो ‘शुन्य समय’मा आफुलाई ठुलै भारी बिसाएको महसुस गर्दछन। पढाईको बोझ सकियो झै लागे पनि वास्तविक जीवनको पढाइ अब सुरु हुने हुदा यो समयमा झन अभिभावकहरु चनाखो हुनुपर्ने देखिन्छ । यो त्यही समय हो, जहाँबाट करियरको आधार तयार गर्न सकिन्छ । एक अध्ययनले देखाए अनुरुप यहि ‘शुन्य समय’ मा गलत सङ्गत, अभिभावकको निगरानीको कमि र विद्यार्थीको स्वतन्त्रताका कारण लागु पदार्थ दुर्व्सनी,दादागिरी,अपराध आदि कार्यमा फसेको देखिन्छ ।यो समयमा अभिभावक, शिक्षक, शिक्षाकर्मी र सहपाठीले विद्यार्थीलाई उपयुक्त मार्गदर्शन, राय, सल्लाह र सुझाव दिनुपर्ने देखिन्छ । यो खाली समयमा निम्नानुसार कार्यहरु गरी आफु भित्रको अन्तर्निहित क्षमता ज्ञान सिपलाई निखार्न र माथिल्लो अध्ययनका लागि सबल गराउन सकिन्छ।

१. आफ्नो बालबालिकाको अन्तर्निहित प्रतिभालाई पहिचान गरि त्यसलाई तिखार्न सहायता गर्नुहोस् । सङ्गीत, खेल, अभिनय , चित्रकला, नृत्य , कथा लेखन , आदिमा रुचिहरुलाई बढाउन त्यही अनुरुपका तयारी कक्षामा लगाउन सकिन्छ। यसले उनीहरुको जीवन रमाइलो बनाउनका साथै आत्मबललाई वृद्धि गर्न मद्दत गर्दछ।यस्तो कार्यले समुहमा काम गर्ने बानीको विकास हुन जान्छ।

२. बालबालिकालाई आफ्नो क्षमता अनुसार पुर्र्ख्यौली घर वा जन्मथलो वा देशभित्र वा बाहिर नया ठाउँमा घुम्न लिएर जानुहोस् र त्यहाँ सिकेका अनुभवहरुको डायरी बनाउन लगाउनुहोस्। यसो गर्दा बालबालिकाहरुले आफ्नो समाजका मूल्य मान्यतासँग सजिलै घुलमिल हुनसक्ने क्षमताको विकास हुन जान्छ।बालबालिकाले अभिभावकको व्यवहार तथा पारिवारिक वातावरणबाट नै सामाजिकीकरणका आधारभूत सिपहरु सिक्दछन् । बालबालिकाले जे देख्छन् त्यही सिक्छन् । भिन्न ठाउँको घुमाइले बालबालिकाहरुमा भिन्दै मान्छेहरुको साथ र नयाँ ठाउँमा बस्ने बानीको बिकास हुन्छ। परिवारको मूल्यमान्यता,संस्कार र नातागोताका मानिसले गर्ने व्यवहारले उनीहरूको सामाजिक विकासमा प्रभाव पर्न जान्छ।

एसईई दिनु भन्दा अगाडि विधालयमा शिक्षक शिक्षिका र घरमा अभिभावकहरुको प्रत्यक्ष निगरानीमा रहेका विद्यार्थीहरु यो खालि समयमा निगरानीको अभावमा दायाँबायाँ हुन सक्छन्। यसप्रति शिक्षक शिक्षिका , अभिभावक र सबै सरोकार निकायहरु सजग हुन जरुरी छ।

३. एसईई पछि उच्च शिक्षा अध्ययनका लागि घरबाहिर जानुपर्ने हुन सक्ने हुँदा बालबालिकाहरुलाई दैनिक जीवनमा आवश्यक पर्ने कार्यहरु जस्तै खाना पकाउन , लुगा धुन, पलिस गर्न, इस्तिरी लगाउन,कोरिबाटी गर्न, बेड मिलाउन, बिधुतीय सामग्रीहरु जस्तै फ्रिज, वासिङ् मेसिन , माइक्रोवभन, गिजर आदि जस्ता सामानहरु चलाउन सिकाउनु पर्दछ।यसले गर्दा दैनिकी कार्यमा सहज हुनुका साथै आधुनिक समाजसँग घुलमिल हुन सहायता पुर्याउछ।

४. बालबालिकाको बौद्धिक विकास सँगै शारीरिक विकास पनि हुन जरुरी छ। तसर्थ बिहानको समय ब्यायाम , योग मेडिटेसन गर्न सिकाउनु पर्दछ। सबै कार्यमा अभिभावकपनि सहभागी हुनु पर्दछ। सहभागिताले आफ्ना बालबालिकाको गुण अवगुण चिन्न सहायता पुर्याउछ।

५. अहिलेको युगमा विषय भन्दापनि बजारमुखी शिक्षा आवश्यक पर्ने हुँदा कम्युटर कक्षाहरु, नेतृत्व सम्बन्धि कक्षाहरु, अङ्ग्रेजी भाषाका कक्षाहरु लिन सकिन्छ।

६. सबै भन्दा महत्त्वपूर्ण एसईई अध्ययनपछिका विद्यार्थीहरु बिषय छनोटमा अलमल हुने र थरीथरीका सल्लाहले निर्णय लिन नसक्ने अवस्थामा पुगेका हुन्छन्। एसईई अध्ययन पछिका विद्यार्थीहरुलाई उनीहरुको रुची, वास्तविक क्षमता, ल्याकत र भविष्यमा उनीहरुले चाहेको पेसालाई ध्यान दिएर विषय छनोट गर्नका लागि शिक्षक, अग्रजहरुले समयमै उचित परामर्श, राय, सल्लाह सुझाव दिनु पर्छ। यस समयमा सही र उचित विषय छनोट हुन नसकेमा विद्यार्थीहरु आगामी अध्ययन पूरा गर्न नै नसक्ने र पूरा गरे पनि उच्च अध्ययनमा राम्रो गर्न नसक्ने अवस्था आउने हुन सक्छन् । तसर्थ यसबाट बचाउनु अभिभावक, शिक्षक, सहपाठी, अग्रजहरुको महत्त्वपूर्ण भुमिका हुन जान्छ।

७. आफ्नो क्षमता अनुरुप विषय छनोट गरिसके पछि त्यस विषयमा अब्बल हुन र छात्रवृत्तिहरु प्राप्त गर्नका लागि तयारी कक्षाहरु (बृज कोर्स) लिन सकिन्छ । यस्ता खालका तयारी कक्षाहरुले कक्षा ११ र सिटिईभिटीका कार्यक्रममा छात्रवृत्तिमा सहयोग गर्नुका साथै कक्षा १० र कक्षा ११ को पाठ्यक्रमको ग्यापलाई परिपुर्ति गर्न सहयोग गर्दछ।

एसईई दिनु भन्दा अगाडि विधालयमा शिक्षक शिक्षिका र घरमा अभिभावकहरुको प्रत्यक्ष निगरानीमा रहेका विद्यार्थीहरु यो खालि समयमा निगरानीको अभावमा दायाँबायाँ हुन सक्छन्। यसप्रति शिक्षक शिक्षिका, अभिभावक र सबै सरोकार निकायहरु सजग हुन जरुरी छ।

लेखक : गोरखा माध्यामिक बिधालय तुलसीपुर दाङका बिज्ञान समुहका संयोजक हुन ।

प्रकाशित मिति : २०७९ चैत्र २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस