टर्की भूकम्पमा मृत्यु हुनेको संख्या २८ हजार नाघ्यो

काठमाडौं । टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा गत सोमबार गएको भूकम्पमा मृत्यु हुनेको संख्या २८ हजार नाघेको छ । हजारौं घाइते भएका छन् ।

टर्कीमा मात्रै २४ हजार ६२७ जना र सिरियामा तीन हजार, ५७५ जनाले ज्यान गुमाएको तथ्यांक छ ।

मानवीय सहायता परिचालनमा समन्वय गरिरहेका संयुक्त राष्ट्रसङ्घका अधिकारीले करिब ५३ लाख सिरियाली घरबारविहीन भएका अनुमान गरेको छ ।

टर्की र सिरियाका नौ लाख भूकम्पपीडितलाई तातो खाना तत्काल आवश्यक भएको बताएका छन् ।

उद्धारकर्मीहरू भूकम्पपछिका एक सय घण्टादेखि प्रतिकूल मौसममा पनि भग्नावशेषबाट जीवित उद्धार गर्न सकेकामा त्यसलाई चमत्कार भनेका छन् ।

भूकम्पले भत्काएको भवनको भग्नावशेषबाट शुक्रबार एक सय पाँच घण्टापछि उद्धार गरिएकी एक महिलाको निधन भएको छ ।

भूकम्प गएको १२९ घण्टापछि एकै परिवारका पाँच सदस्यको जीवितै उद्धार गरिएको छ । पाँच जनाको जीवन जोगाउन पाएकामा उद्धारकर्मीले खुशी हुँदै भगवान्को प्रार्थना गर्दै ‘ईश्वर महान् हुनुहुन्छ’ भनेका थिए ।

आज नौ जनालाई जीवितै उद्धार गरिएको छ । मानवीय सहायतासम्बन्धी राष्ट्रसङ्घका प्रमुखले एक सय वर्षपछि यति शक्तिशाली भूकम्प यस क्षेत्रमा भएको बताएका छन् ।

प्रकाशित मिति : २०७९ माघ २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस