काठमाडौं । मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडले ४ फागुन देखि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गरी बाँडफाँट गरेर सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा आफ्नो जारी पुँजीको ८० करोड २५ लाख रुपैयाँको ३४ प्रतिशतले हुने आउने २७ करोड २८ लाख ५० हजार रुपैयाँ बराबरको २७ लाख २८ हजार ५०० कित्ता सेयर सार्वजनिक निष्कासनको अनुमति पाएको थियो ।
५ प्रतिशत अर्थात एक लाख ३६ हजार ४२५ कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरेको छ भने २ प्रतिशत अर्थात ५४ हजार ५७० कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि छुट्याइएको छ। बाँकी रहेको २२ लाख ६४ हजार ६५५ कित्ता सेयरका लागि कम्पनीले सर्वसाधारणबाट आवेदन माग गरेको हो ।
कम्पनीको कम्पनीको आईपीओ निष्कासनको लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ।
कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्रा एनपी इस्यूअर रेटिङ डबल बी’ रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व समयमै बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
कम्पनीले ओखढुंगाको मोलुङ गाउँपालिकमा ७ मेगावाटको क्षमताको मोलुङ खोला जलविद्युत आयोजना निमार्ण गरी २०७४ चैत १२ देखि व्यवसायिक उत्पादन गर्दै आएको छ ।
आयोजनाको प्रति मेगावाट लागत निर्माण अवधिको ब्याजसहित २० करोड ८० लाख रहेको छ भने आयोजनाको कुल अनुमानित लागत एक अर्ब ४५ करोड रुपैयाँ रहेको छ।


