
दाङ । दाङ जिल्ला स्तरीय अन्तर विद्यालय छात्रछात्रा फुटसल प्रतियोगिता २०७९ आजदेखि तुलसीपुरमा सुरु भएको छ ।
नेशनल प्याब्सन तुलसीपुर नगरको आयोजमा संचालित प्रतियोगिताको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले उद्घाटन गरेका हुन् ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि खड्काले सिङ्गो खेलकुद क्षेत्र राष्ट्रको सान र गौरव भएको बताए । स्वस्थ जीवनशैलीका लागि खेलकुद आजको आवश्यकता हो भने अन्तर्रास्ट्रिय स्तरमा राष्ट्रिय झन्डा फहराउदै राष्ट्रिय पहिचान कायम गर्ने एक मात्र दरिलो माध्यम खेलकुद नै भएको उनले बताए । साथै उनले यसको उच्च आदर्शलाई सबैले आत्मसाथ गर्नसके खेलकुदको बिकासले उचाई लिने बताए ।
नेशनल प्याब्सन तुलसीपुर नगर कमिटीका उपाध्यक्ष सुमन केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेशनल प्याब्सनका केन्द्रीय उपाध्यक्ष सुबोध कुमार डाँगी, तुलसीपुर उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख चक्र बहादुर भण्डारी लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।
नेशनल प्याब्सन तुलसीपुर नगरका अध्यक्ष शालिकराम कार्कीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा विभिन्न कला, संस्कृति झल्कने नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रमको संचालन तुलसीपुर नगर सचिव मेघराज पोख्रेलले गरेका थिए ।
यसैबिच प्रतियोगिता अन्तरगत आज सम्पन्न पहिलो चरणको खेलमा छात्र तर्फको खेलमा ज्ञान ज्योती तुलसीपुर, मिडवेस्ट प्वाइन्ट एकाडेमी खैरेनी, शिखा बोर्डिङ स्कुल तुलसीपुर, लक्ष्य एकाडेमी तुलसीपुर, बाल सहारा तुलसीपुरले बिजयी यात्रा सुरु गरेका छन । प्रतियोगिता माघ ८ गतेसम्म चल्नेछ ।