भारतमा तीन जना नेपालीको निसास्सिएर मृत्यु

काठमाडौं । भारतको मेरठमा एकै परिवारका तीन जना नेपालीको मृत्यु भएको छ । चिसोबाट बच्न राति कोइला बालेर सुतेका र धुवाँले निसास्सिएर ४ वर्षीया छोरीसहित दम्पतीको हिजो ज्यान गएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

कैलाली चौमालाका ३८ वर्षीय चन्द्र, उनकी श्रमिती ३४ वर्षीया राधा र छोरी अञ्जलीको ज्यान गएको हो । चन्द्र मेरठको टिपी नगरका उद्यमी आलोक बंसलको घरमा घरेलु श्रमिकको रुपमा काम गर्दै आएका थिए ।  

चन्द्रको परिवारलाई त्यो घरको तेस्रो तलामा एउटा कोठा दिइएको थियो । हिजो नयाँ वर्षको दिन दिउँसोसम्म पनि कोही कोठाबाट बाहिर नआएपछि घरबेटी त्यहाँ पुग्दा ढोका बन्द अवस्थामा थियो । ढोका फुटाएर हेर्दा चन्द्र र राधाको ज्यान गएको र अञ्जली बेहोस अवस्थामा भेटिएका थिए । उपचारको लागि स्थानीय अस्पतालमा पुर्‍याउँदासम्म अञ्जलीको पनि ज्यान गएको प्रहरीको भनाइलाई उद्धृत गर्दै भारतीय मिडियाले लेखेका छन् ।

मृतकको शवलाई पोष्टमार्टमको लागि पठाइएको र घटनाबारे मृतकको परिवारलाई खबर गरिसकेको टिपी नगर थाना प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २०७९ पुष १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस