‘छक्कापञ्जा ४’को दोस्रो चरणको छायांकन सुरु

काठमाडौं । ‘छक्कापञ्जा ४’को दोस्रो चरणको छायांकन सुरु भएको छ । शुक्रबार काठमाडौंको वसन्तपुरमा फिल्मका मुख्य कलाकार दीपकराज गिरीका केही दृश्य खिचिएको थियो ।

अबको दुई सातासम्म काठमाडौं र वरपरका केही गाउँमा फिल्म छायांकन हुनेछ । ‘चिसो समयका केही दृश्य खिच्नुपर्ने थियो र सोहीअनुसार आजदेखि सुटिङ सुरु भएको छ,’ निर्माता, लेखक तथा अभिनेता समेत रहेका गिरीले भने ।

पहिलोचरणमा फिल्मको ८० प्रतिशत छायांकन पूरा भइसकेको छ भने त्यसमध्ये तीन प्रतिशत पुनः छायांकन गर्नुपर्ने अवस्था रहेको गिरीले जानकारी दिए ।

‘छक्कापञ्जा ४’को कथावस्तुमा यसपटक समसामयिक राजनीतिलाई समावेश गरिएको उनले बताए । ‘राजनीतिलाई कमेडीमार्फत पस्कनेछौं,’ उनले भने । फिल्मलाई हेमराज बिसीले निर्देशन गरिरहेका छन् ।

बुधबार फिल्मको टिजर पोस्टर सार्वजनिक गर्दै निर्माताले फागुन १९ गते फिल्म प्रदर्शन गर्न लागिएको जानकारी दिएका छन् । फिल्मको कार्यकारी निर्मातामा निर्मल शर्मा र केदारप्रसाद घिमिरे छन् ।

प्रकाशित मिति : २०७९ पुष ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस