स्वीट्जरल्याण्डलाई हराउँदै ब्राजिल विश्वकपको अन्तिम–१६ मा प्रवेश

काठमाडौं । स्वीट्जरल्याण्डलाई १–० ले पराजित गर्दै ब्राजिल कतारमा भइरहेको फिफा विश्वकप २०२२ को अन्तिम १६ मा स्थान पक्का गरेको छ ।

स्टेडियमा ९७४ मा भएको समूह जीको यो खेलमा ब्राजिलका लागि खेलको अन्त्यतिर कासेमिरोले रोड्रिगोको पासमा गोल गरेका थिए ।

त्यसअघि कासेमिरोको पासमा भिनिसियस जुनियरले ६४औं मिनेटमा गोल गरे पनि भिडियो असिस्टेन्ट रेफ्री (भीएआर)ले त्यसलाई अफसाइड भन्दै मान्यता दिएन ।

पहिलो खेलमा सर्वियालाई २–० ले पराजित गरेको ब्राजिल लगातार दुई जितपछि समूह जी बाट नकआउट चरणमा प्रवेश गरेको हो । समूहमा एक खेल खेल्न नै बाँकी रहेको ब्राजिल नकआउट चरण पुग्ने दोस्रो टिम बन्यो । यसअघि साविक विजेता फ्रान्स समूह डी मा लगातार दुई खेल जितेर नकआउट चरणमा पुगिसकेको छ ।

ब्राजिलले अब समूहको अन्तिम खेल क्यामरुनसँग खेल्नेछ । सोमबारै भएको खेलमा क्यामरुन र सर्वियाले ३–३ को बराबरी खेल्दै अंक बाँडेका थिए ।

स्वीट्जरल्याण्डले समूहको अन्तिम खेल सर्वियासँग खेल्नेछ ।

प्रकाशित मिति : २०७९ मङ्सिर १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस