‘नाइँ नभन्नु ल ६’को छायांकन बिहीबारदेखि हुँदै

काठमाडौं । प्रतीक्षित फिल्म ‘नाइँ नभन्नु ल ६’को छायांकन बिहीबारदेखि सुरु हुने भएको छ । निर्देशक विकासराज आचार्यले काठमाडौंको एक विद्यालयबाट छायांकन सुरु हुने जानकारी दिए ।

छायांकनपूर्व कलाकारको समीकरण पनि पूरा भएको छ । आँचल शर्मा, आशिर्वाद बराल, अनुभव रेग्मी, योगिशा, अथर्व र एल्बिना प्रमुख भूमिकामा हुने भएका छन् ।

छैटौं श्रृंखलामा कथावस्तुमा हल्का फेरबदल भएको छ । बालकथासँगै तन्नेरीको प्रेमकथालाई पनि समावेश गरिएको छ । डेब्यु ब्वाय आशिर्वाद र आँचलबीचको रोमान्सलाई पनि समेटिने भएको छ ।

तिहार बिदाको अवसर पारेर विद्यालयमा छायांकन गरिन लागिएको निर्देशक आचार्यले बताए । ‘तिहार बिदामा स्कुल पनि बन्द हुने भएकाले, सोही अवसरलाई छोप्न खोजेका हौं’ उनले भने ।

निर्देशक आचार्यसहित सामीप्यराज तिमिल्सिना र अरुणदेव जोशीले पटकथा लेखनमा सहकार्य गरेका छन् । प्रदर्शन मिति निश्चित नभइसके पनि निर्देशक आचार्यले आगामी वर्ष प्रदर्शन हुनसक्ने सम्भावना रहेको बताए ।

नाइँ नभन्नु लका अघिल्ला पाँचैवटा सिक्वेलहरु बक्स अफिसमा सफल भइसकेका छन् ।

प्रकाशित मिति : २०७९ कार्तिक १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस