तुलसीपुर वडा नं. १८ लाई बालश्रम मुक्त वडा घोषणा गरिने (भिडियोसहित)

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ लाई बालश्रम मुक्त वडा घोषणा गरिने भएको छ । विगत लामो समयदेखि नै वडा भित्र बालश्रमिकहरुको अध्ययनपछि वडालाई बालश्रम मुक्त घोषणा गर्न लागिएको हो ।

वडाले बिहिवार पत्रकार सम्मेलन गरि बालश्रम मुक्त वडा घोषणाको तयारी पुरा भएको जानकारी दिएको छ । नेपालको संविधान र विभिन्न ऐनहरुमा बालबालिकाको हकहितको व्यवस्था गरिएकाले त्यसको कार्यान्वयन गर्दै वडालाई बाल श्रम मुक्त घोषणा गर्न लागिएको वडाध्यक्ष माधव वलीले बताए । उनकाअनुसार पहिलो चरणमा घर–घरमा पुगेर तथ्यांक संकलन गरिएको थियो ।

तथ्याङक सकंलनका क्रममा वडामा ३२ जना बाल श्रमिक भेटिए पनि सम्बधित सारेकारवालासँग छलफल गर्दा केही आफन्तकोमा बसेर पढ्ने गरेको पाइएको थियो । त्यसमध्ये बुबाआमा नभएका १० जना बालबालिकालाई भने वडा र टोल विकास संस्थाले जिम्मा लिने गरि आफन्तलाई नै जिम्मा दिइएको वलीले बताए ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठले २०८५ सम्म देशलाई बालश्रम मुक्त घोषणा गर्ने लक्ष्य राखेकोले तुलसीपुरले पनि सोहीअनुसार अभियानलाई तीव्र बनाएको बताए । उनले तुलसीपुरलाई बालश्रम मुक्त पालिका बनाउन विभिन्न वडाहरुले तयारी थालेको र वडा नं. १६ र १७ ले केही समयभित्र बालश्रम मुक्त वडा घोषणाको तयारी गरेको बताए ।

पत्रकार सम्मेलनको सहजीकरण वडा सचिव रामकुमारी मरासिनीले गरेका थिए । तुलसीपुरमा हालसम्म वडा नं. ६,२ र १ वडा बालश्रम मुक्त वडा घोषणा गरेका छन् ।

प्रकाशित मिति : २०७९ असोज ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस