तुलसीपुर। राष्ट्रिय पञ्जिकरण विभागले स्थानीय पालिकाको व्यवस्थापनमा वडाबाटै राष्ट्रिय परिचय पत्र वितरण सुरु गरेको छ ।
विभागले दाङ जिल्लाको घोराही उपमहानगरपालिकाका वडाहरुमा यसअघि नै परिचय पत्र निर्माणका लागि वडाबाटै अभियानकारुपमा सुरु गरेको हो भने तुलसीपुरका वडाहरुमा बुधबारदेखि सुरु गरेको छ ।

वडाबाट परिचय पत्र वितरण कार्य सुरु भएपछि तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले आफ्नो १८ नं. वडाबाट राष्ट्रिय परिचय पत्रको अनलाइन फाराम भरी शुभारम्भ गरेका छन् ।
तुलसीपुर उपमहानगरपालिकामा पहिलो चरणमा वडा नम्बर ४,६,७,९,१२ र १८ दोस्रो चरणमा ८,१०,११,३,५,१७ र १९ तेस्रो चरणमा १,२,१३,१५,१४ र १६ नम्बरका वडाहरुमा परिचय पत्र कार्यक्रम अभियानकारुपमा सुरु हुनेछ । एउटा वडामा १२ दिनसम्म टोलीले काम गर्ने जनाइएको छ ।
नगर प्रमुख खड्काले राष्ट्रिय परिचय पत्र कार्यक्रम अभियानकैरुपमा भएकाले नगरवासीहरुले वडामै पुगेर बनाउनका लागि आग्रह गरे । पत्र बनाउनका लागि नागरिकता, विवाहितको हकमा विवाह दर्ता, बसाइसराई प्रमाण पत्रको सक्कलै प्रमाण पत्र आवश्यक पर्दछ ।


