बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन प्रधानमन्त्रीले गर्ने

बुटवल । बुटवलमा बनेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको आज (शनिबार) उद्घाटन गरिंदैछ । सम्मेलन केन्द्रको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

एक अर्ब ११ करोड रुपैयाँको लागतमा बनेको सम्मेलन केन्द्रको बिहान १० बजे उद्घाटन गर्ने आयोजना प्रमुख धर्मेन्द्र पन्थीले बताए ।

उद्घाटन कार्यक्रममा एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री बालकृष्ण खाँण, सहरी विकास मन्त्री मेटमणि चौधरी, लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीलगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको पन्थीले बताए ।

पूर्वपश्चिम राजमार्गसँग जोडिएको बुटवल उपमहानगरपालिका–१० रामनगरस्थित बुटवल मण्डपको साढे ९ बिघा क्षेत्रफलमा सम्मेलन केन्द्र बनेको छ ।

संघीय सरकारको सहरी विकास तथा भवन निर्माण विभागको १ अर्ब ११ करोड रूपैयाँ लागतमा केन्द्र बनेको हो । विक्रम संवत् २०७१ माघ १५ गते सम्झौता भएर निर्माण सुरू भएको सम्मेलन केन्द्र दोस्रो चरणमा २०७४ सालमा सम्झौता गरी २०७६ कात्तिकसम्मको समयावधि तोकेर काम भएको हो ।

प्रकाशित मिति : २०७९ भाद्र ११ गते शनिवार
प्रतिक्रिया दिनुहोस