देउखुरी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वास्थ्य क्षेत्रमा विनियोजन भएको बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिएका छन् । संघीय सरकारबाट प्राप्त सशर्त अनुदानको रकम खर्च हुन नसकी फिर्ता जाने अवस्था अन्त्य गर्नुपर्नेमा उनले विशेष जोड दिएका हुन् ।
आइतबार राप्ती उपत्यका(देउखुरी)मा भएको आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित स्वास्थ्य कार्यक्रमको प्रदेशस्तरीय समीक्षा कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले स्वास्थ्य क्षेत्रलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको बताए । प्रदेशको कुल बजेटको करिब १५ प्रतिशत स्वास्थ्य क्षेत्रमा विनियोजन गरिएको उनले जानकारी दिए ।
‘स्वास्थ्य क्षेत्रमा बजेटको अभाव हुन दिएका छैनौं । तर संघीय सशर्तको बजेट कार्यान्वयनमा विशेष ध्यान दिन जरुरी छ,’ उनले भने, ‘गत वर्ष संघीय सशर्तको बजेट फिर्ता भएको देखियो । संघबाट आएको बजेट खर्च गर्न सकेनौं भने उतै फर्किएर जाने हो ।’
संघबाट प्राप्त हुने बजेट क्रमशः घट्दै गइरहेको अवस्थामा उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्नुपर्ने उनले बताए । प्रदेश र स्थानीय तहबीच समन्वय गरेर स्वास्थ्य कार्यक्रम कार्यान्वयन गर्नुपर्नेमा पनि उनले जोड दिए ।
विद्यालय केन्द्रित स्वास्थ्य कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्ने भन्दै मुख्यमन्त्री आचार्यले विद्यालय तहबाटै स्वस्थ जीवनशैली र पोषणसम्बन्धी चेतना विकास गर्न आवश्यक रहेको बताए । स्वास्थ्यका विभिन्न सूचकमा सुधारका संकेत देखिएको भए पनि खोपको सूचकमा थप सुधार आवश्यक रहेको उनले बताए ।
स्वास्थ्य मन्त्री दीपेन्द्रकुमार पुनले स्वास्थ्य क्षेत्र प्रदेशका करिब ५२ लाख नागरिकसँग प्रत्यक्ष जोडिएको विषय भएकाले संवेदनशील भएर काम गर्नुपर्ने बताए । स्वास्थ्य क्षेत्रमा देखिएका समस्याको प्राथमिकता निर्धारण गरी समाधानको स्पष्ट योजना बनाउनुपर्ने उनको भनाइ छ । प्राप्त उपलब्धिलाई संस्थागत गर्दै आगामी दिनमा स्वास्थ्य सेवाको गुणस्तर सुधारमा केन्द्रित हुनुपर्ने उनले बताए ।
स्वास्थ्य सचिव विकास देवकोटाले रुपन्देहीमा ठूलो अस्पताल निर्माण भइरहेको जानकारी दिँदै प्रदेशमा स्वास्थ्य सेवाको क्षेत्रमा क्रमिक सुधार भइरहेको बताए ।
स्वास्थ्य निर्देशनालयका स्वास्थ्य शिक्षा प्रशासक नेत्रलाल अर्यालले प्रदेशका प्रमुख स्वास्थ्य सूचक र चुनौतीबारे प्रस्तुतीकरण गरे । उनले मातृ मृत्युदरमा सुधार आएको जानकारी दिँदै राष्ट्रिय खोप कार्यक्रमको सूचक भने लक्ष्यअनुसार अघि बढ्न नसकेको बताउए । खोपको सूचक घट्नुका कारण पहिचान गरी सुधारका उपाय अवलम्बन गर्नुपर्ने उनको भनाइ छ ।
लुम्बिनी प्रादेशिक अस्पतालमा दैनिक औसत एक हजार १५१ जनाले सेवा लिने गरेको र भालुबाङ अस्पतालबाट दैनिक ४९ जनाले सेवा लिने गरेको कार्यक्रममा जानकारी दिइएको छ ।
आयुर्वेद तथा स्वस्थकर जीवनशैली प्रवर्द्धनका कार्यक्रम, स्वर्णविन्दुप्राशन, पोषण विशेष कार्यक्रम र नसर्ने रोगको स्क्रिनिङलाई प्रभावकारी बनाइएको जानकारी दिइएको थियो । अस्पतालमा बिहान ८ बजेदेखि ओपीडी सेवा सञ्चालन गर्नु नवीन अभ्यासका रूपमा अघि बढाइएको बताइएको थियो । स्वास्थ्य मन्त्रालयका तथ्यांक अधिकृत मानबहादुर ओलीले नवजात शिशु मृत्युदर घट्दै गएको जानकारी दिए ।
सुनिलस्मृति गाउँपालिकाका अध्यक्ष मणिराम बुढाथोकीले स्वास्थ्य क्षेत्रमा सुधार भए पनि जनशक्ति र उपकरणको अभाव रहेको बताए । स्वास्थ्य सेवाको गुणस्तर सुधारका लागि लगानी बढाउनुपर्ने उनको भनाइ छ ।
प्रमुख सचिव विनोदबहादुर कुँवरले स्वास्थ्य जनशक्तिको अभिलेख प्रणालीलाई व्यवस्थित बनाउनुपर्ने बताए । जनशक्तिको अभावसँगै उपलब्ध जनशक्तिलाई समेत प्रभावकारी रूपमा उपयोग गर्न नसकिएको उनले बताए । स्वास्थ्य क्षेत्रमा असुलउपर गर्नुपर्ने बेरुजुलाई शून्यमा झार्नुपर्ने उनले बताए ।
स्वास्थ्य निर्देशक रोशनलाल चौधरीले स्वागत मन्तव्य राखेको कार्यक्रममा वरिष्ठ अस्पताल नर्सिङ प्रशासक ईश्वरी केसीले सञ्चालन गरेका थिए । स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।


