ब्रान्डेड मदिराको बोतलमा नक्कली मदिरा बेच्ने ५ जना पक्राउ

काठमाडौं । विभिन्न ब्राण्डका नाममा नक्कली मदिरा उत्पादन गरेको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंले दुई फ्याक्ट्रीमा छापा मारेको छ ।

काठमाडौंको कोटेश्वरसहितका स्थानमा विभिन्न ब्राण्डका नक्कली रक्सीको बिक्री वितरण हुने गरेको सूचनाका आधारमा कोटेश्वरस्थित हरि वलीको डेरा र चाँगुनारायण–२, दुवाकोटमा सञ्चालित दुई फ्याक्ट्रीमा प्रहरीले छापा मारेको हो ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार वलीको डेरा र फ्याक्ट्रीमा डबल ब्ल्याक, ब्ल्याक लेबल, रेड लेबल, ज्याक डेनिस, ८८४८ भोड्का, सिग्नेचर, ओल्ड दरबार, गोल्डेन ओक, हाईल्याण्डर भोड्का, ब्लू डाइमेन्ड लगायतका ब्राण्डका नक्कली रक्सी बरामद भएको छ ।

प्रहरीले रक्सी बनाउन प्रयोग हुने कच्चा पदार्थसहितको बाल्टिन, जार, सोली लगायत पनि बरामद गरेको छ । प्रहरीले विभिन्न ब्राण्डका नाममा नक्कली मदिरा उत्पादनमा संलग्न पाँचजनालाई पक्राउ पनि गरेको छ ।

पक्राउ पर्नेमा दोलखाको कालिञ्चोक गाउँपालिका–१ घर भई काठमाडौंको कोटेश्वरमा बस्‍दै आएका २४ वर्षीय हरि वली, भिमेश्वर नगरपालिका–८ घर भई भक्तपुरको चाँगु नारायण बस्‍ने ३९ वर्षीय भगवान बस्‍नेत, कालिञ्‍चोक गाउँपालिका–४ घर भई महाबौद्ध बस्‍ने २० वर्षीय विशाल वली, रामेछापको खाँडादेवी गाउँपालिका–२ घर भई हाल काठमाडौंको मूलपानी बस्‍ने २७ वर्षीय मनोझ खत्री र रामेछापकै खाँडादेवी गाउँपालिका–९ घर भई हाल ठमेल बस्‍ने २७ वर्षीय गोपी श्रेष्ठ छन् ।

प्रहरीका अनुसार सुरुमा कोटेश्वरस्थित डेराबाट वलीलाई पक्राउ गरेर सोधपुछ गर्ने क्रममा अन्य व्यक्तिको पनि संलग्नता देखिएको छ ।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा बरामद रक्सीहरु विभिन्न नाइट क्लब, लाउन्ज, डिस्को, विभिन्न डिलर, दोहोरी, डान्सबार लगायतमा पठाइने गरिएको खुलेको छ ।

पक्राउ परेका मध्येका रामेछापको खाँडादेवीका खत्री सो योजनाका मास्टर माइन्ड हुन् । २७ वर्षका खत्रीलाई यसअघि उपत्यका अपराध अनुसन्धान कार्यालयले नक्कली मदिरा उत्पादन गरेको आरोपमा पक्राउ गरेको थियो ।

दोस्रोपटक नक्कली मदिरा कारोबार गरेको आरोपमा पक्राउ परेका खत्रीले भारतमा गएर ब्रान्डेड मदिराको सिल उप्काउन सिकेको प्रहरीलाई बताएका छन् ।

प्रकाशित मिति : २०७९ भाद्र १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस