
काठमाडौं । निर्वाचन आयोगले चुनाव प्रचार प्रसारमा २५ जनाभन्दा बढी मानिस सहभागी हुन नपाउने प्रस्ताव गरेको छ ।
सोमवार निर्वाचन आचारसंहिताका विषयमा राजनीतिक दलहरूसँग भएको छलफलको विषयमा जानकारी दिँदै निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले यस्तो प्रस्ताव अघि सारिएको बताएका हुन् ।
उनले चुनावमा मतदातालाई अनेकौं प्रलोभन पार्ने तथा सांसदहरुले नै निर्वाचन लड्न कठिन भएको गुनासोका आधारमा आयोगले तोकेको खर्च गर्नेगरी प्रचार प्रसारका लागि २५ जना मात्रै जान मिल्ने आचारसंहिता ल्याउने प्रस्ताव गरिएको बताए । निर्वाचनमा उम्मेदवार नभएको राजनीतिक दलको चुनाव चिह्न मतपत्रमा समावेश नगर्ने तयारी रहेको पनि आयोगले जनाएको छ ।
प्रवक्ता पौडेलले निर्वाचन आचार संहिताको विषयमा सबै राजनीतिक दलहरूको मिश्रित सल्लाह सुझाव आएको जानकारी दिए । आयोगले राजनीतिक दलका सबै सुझावहरूलाई विश्लेषण गरेर राजपत्रमा प्रकाशित गर्ने तयारी गरेको छ ।
प्रवक्ता पौडेलले भने, ‘निर्वाचन आचार संहिता २०७९ लाई विभिन्न राजनीतिक दलका आगामी निर्वाचनका लागि सल्लाह सुझाव लिएर निर्वाचन आचार संहिता परिमार्जन, संशोधन गर्न छलफल भएको छ ।’ उनले छलफलमा राजनीतिक दलहरूबाट मिश्रित सुझावहरु प्राप्त भएको भन्दै सबै सुझावहरूलाई मनन र विश्लेषण गरेर आयोगले राजपत्रमा प्रकाशित गर्ने बताए ।
निर्वाचनमा खर्च धेरै भयो,उम्मेदवार भएपनि निर्वाचन लड्न समस्या भयो भन्ने भनाईलाई मनन गरेर २५ जनासम्म भेला भएर प्रसारप्रसार गर्नुपर्ने आयोगले प्रस्ताव गरेको प्रवक्ता पौडेलले जानकारी दिए ।