रेसुंगा क्याम्पसमा आर्थिक संकटकाल घोषणा

काठमाडौं । २०३९ सालमा स्थापना भएको गुल्मीको रेसुंगा बहुमुखी क्याम्पसले क्याम्पसमा आर्थिक संकटकाल घोषणा गरेको छ ।

सोमबार बसेको क्याम्पस सञ्चालक समितिको बैठकले आर्थिक अभावको कारण क्याम्पस सञ्चालन गर्नै समस्या भएको भन्दै ‘आर्थिक संकटापन्न अवस्था’ घोषणा गरेको छ ।

कोभिड–१९ महामारीका कारण शैक्षिक सत्र लम्बिएको, विद्यार्थी संख्या कम भएको लगायतका कारण आर्थिक संकटमा परेको क्याम्पस प्रमुख हरिबहादुर केसीले बताए । अहिले क्याम्पस चरम आर्थिक संकटमा परेकोले समुदाय, सरोकारवाला निकायलाई जानकारी दिनको लागि केही गर्नुपर्छ भनेर संकटापन्न घोषणा गर्नुपरेको सञ्चालक समितिका अध्यक्ष श्रीप्रसाद भलामीले बताए ।

क्याम्पसलाई समस्यामुक्त गर्नको लागि विभिन्न उपाय लगाउने उनको भनाइ छ । अहिले क्याम्पसको समस्या समाधान गर्नको लागि तीन सदस्यीय अध्ययन समिति गठन गरेको छ ।

अध्यक्ष भलामीले विभिन्न नौ बुँदे कार्यदेश दिइएको जानकारी दिए । उनका अनुसार सञ्चालक समिति उपाध्यक्ष धर्म विश्वकर्माको संयोजकत्वमा बनेको अध्ययन समितिले कोभिड–१९ को बेलाको खर्चको व्यवस्थापन कसरी गर्ने, क्याम्पसमा भएका खर्च कटौती कसरी गर्न सकिन्छ, १० वर्षअघि लगाएको महायज्ञमा घोषणा भएको चन्दा रकम उठाउनका लागि अब के गर्न सकिन्छ लगायतको विषयमा प्रतिवेदन तयार गर्नेछ ।

पाँच दिनभित्र प्रतिवेदन तयार गर्नुपर्नेछ । समितिको उक्त प्रतिवेदनमाथि बृहत छलफल गरी कार्यान्वयनका लागि अघि बढ्ने अध्यक्ष भलामीले बताए ।

प्रकाशित मिति : २०७९ भाद्र १ गते बुधवार
प्रतिक्रिया दिनुहोस