ब्याजदर नबढाउने बैंकर्स संघको निर्णय

काठमाडौं । नेपाल बैंकर्स संघले तत्काल निक्षेपको ब्याजदर नबढाउने निर्णय गरेको छ । राष्ट्र बैंकले बुधबार मौद्रिक नीति कार्यन्वयनको लागि एकीकृत निर्देशन २०७८ मा संशोधन गर्दै नीतिगत दर र बैंकदर परिवर्तन भए बैंकहरुले निक्षेपको ब्याजदर परिर्वत गर्नसक्ने व्यवस्था गरेको थियो ।

राष्ट्र बैंकले निक्षेपको ब्याजदर बढाउनुपर्ने सन्देश दिए पनि बैंकहरुले तत्काल ब्याजदर नबढाउने निर्णय गरेको एक बैंकरले बताए ।

राष्ट्र बैंकले संस्थागत प्रकृतिको मुद्धती निक्षेपको अधिकतम ब्याजदर व्यक्तिगत प्रकृतिको मुद्धती निक्षेपको अधिकतम ब्याजदर भन्दा दुई प्रतिशत बिन्दुले कम हुनुपर्ने व्यवस्था गरेको थियो ।

यसअधि १ प्रतिशत बिनदुले कम हुनुपर्ने व्यवस्थामा राष्ट्र बैंकले संशोधन गरेपछि बैंकर्स संघले शुक्रबार बिहान पूर्णबैंठक बोलाएको थियो ।

शुक्रबार भएको छलफलमा सबै बैंकका सीईओले राष्ट्र बैंकको निर्देशनअनुसार भदौको लागि ब्याजदर प्रकाशित गर्दा संस्थागत मुद्धती निक्षेपको ब्याजदर समायोजन गर्ने र अन्य ब्याजदरलाई निरन्तरता दिने सहमति भएको एक बैंकर्सले बताए ।

हाल व्यक्तिगत मुद्दति निक्षेपमा ११.०३ प्रतिशत ब्याजदर दिँदै आएका बैंकले संस्थागतमा १०.०३ प्रतिशत ब्याजदर दिदै आएका थिए । तर, अब बैंकहरुले संस्थागत निक्षेपमा दिने अधिकतम ब्याजदर ९.०३ प्रतिशत कायम हुने भएको छ ।

प्रकाशित मिति : २०७९ साउन २० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस