काठमाडौं । नेपाली चलचित्र ‘पानीफोटो’ आजबाट प्रदर्शनमा आएको छ । अभिनेता खगेन्द्र लामिछानेको निर्देशनमा बनेको ‘पानीफोटो’मा माओवादी जनयुद्धको समयमा झन्डै डेढ दशकअगाडि बेपत्ता भएको छोराको खोजीमा रहेको बाबुआमाको कथालाई प्रस्तुत गरिएको हो ।
एक वृद्ध दम्पती आफ्नो एक मात्र छोराको अन्तिम संस्कार गर्न अस्वीकार गर्छन् र उनीसँगै बेपत्ता भएका मिल्ने साथी जो १५ वर्षपछि घर फर्किएका छन्, उनीसँगै छोरालाई खोज्न हिंड्छन् । चर्चित नाटक पानीफोटोमाथि बनेको यो फिल्मले दशक लामो सशस्त्र द्वन्द्वको मानवीय आयामलाई चित्रण गर्छ ।
१ घण्टा ५२ मिनेट लामो फिल्ममा खगेन्द्र लामिछाने, अनुप बराल, मेनुका प्रधान, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ, मलिका महत, अशान्त शर्मा लगायतको अभिनय छ ।
टुकी आर्ट्स र मन्जुश्री फिल्म्सको निर्माणमा बनेको चलचित्रलाई रोजिना सिटौला र रवीन्द्र बज्राचार्यले निर्माण गरेका हुन् ।
चलचित्रमा दीपक बज्राचार्यको छायाङ्कन, निमेष श्रेष्ठ र अर्जुन कार्कीको सम्पादन छ ।