मुलुक निर्माणको लागि एकमात्र अचुक अस्त्र सहमति, सहकार्य र एकता नै हो : भण्डारी

राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति दाङका सह–सचिव उमाकान्त भण्डारीसँग समसामयिक राजनीतिक विषयवस्तुमा केन्द्रित रहेर गरेको कुराकानीको सारसंक्षेप प्रस्तुत गरिएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको सांगठनिक अवस्था कस्तो छ ?

राष्ट्रिय प्रजातन्त्र पार्टीको सांगठनिक अवस्था राम्रो छ । राप्रपाले धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्वका विषयलाई अंगाली रहेको छ । दाङ जिल्लामा पार्टीको संगठन मजबुत बन्दै गएको छ । जिल्ला भित्रका कार्यसमिति, पार्टीका जनवर्गीय संगठनहरु क्रियाशील रहँदै संगठन निर्माणमा लागेका छन् । दंगाली जनताको आर्कषणको केन्द्रविन्दु राप्रपा बनेको छ । राष्ट्रवादीको मुल जरो राप्रपा भएकोले हामीलाई संगठन निर्माण गर्न अप्ठ्यारो भएको छैन । जनताको तन मनमा राप्रपा बस्ने विश्वास मैले लिएको छु । राप्रपाले सबैलाई सम्मान दिएको छ र अवसर पनि दिएको छ । देशमा राप्रपा बाहेक अरु कुनै पार्टीले धर्म संस्कृतिको रक्षा गर्न सक्दैनन् त्यसैले जनताको मनमा राप्रपा बसेको छ र राप्रपाको संगठन दिनप्रतिदिन मजवुत हुँदै गईरहेको यहाँहरूलाई जानकारी गराउन चाहन्छु ।

राजनीतिक दलहरू प्रति जनताको वितृष्णा बढ्नुका पछाडी के कारण हुन सक्छन् ?

राजनीतिक दलहरुमा इमान्दारिता देखिएन त्यसको कारणनै जनताप्रति वितृष्णा बढेको हो जस्तो मलाई लाग्छ । जुन आस्था र विश्वास गरेर नागरिकले दललाई निर्वाचित गराए तीनै राजनीतिक दलले जनतालाई पटक पटक धोका दिने काम गरे । जनताले नचाहेको एमसीसी यीनै दलले संसदबाट पास गरे । अहिले एसपीपी पास गर्ने तयारीमा जुटेका छन् । जुन जनताले चाहिरहेका छैनन् । यसको कारण पनि दलप्रति जतनाको वितृष्णा बढेको हो । राजनीतिक परिवर्तनका नाममा जनतालाई यिनै दलले आन्दोलनमा होमे तर जनचाहना अनुसार यी दलले काम गर्न सकेनन् । आन्दोलनको मर्म र भावनालाई संस्थागत गर्नेे कुरामा राजनीतिक दल चुके । राजनीतिक दलको उदासिनताका कारण मुलुकमा गतिहीनता देखिएको छ, आम नेपालीमा निराश र उपेक्षा देखिएको छ । त्यसैले राजनीतिक संस्कारको संस्थागत विकास गर्दै जनताको मन जित्ने हो भने दल प्रति जनताको वितृष्णा हुने छैन भन्ने मेरो बुझाइ हो ।

मुलुकलाई राजनीतिक अन्यौलताबाट निकास दिलाउन के गर्नुपर्ला ?

मुलुकलाई राजनीतिक अन्यौलताबाट निकास दिलाउन सबै इमान्दार हुनु पर्यो । सहमति र सहकार्यलाई मुलमन्त्र ठानी देश र जनताको लागि इमान्दारीपूर्वक काम गर्ने हो भने यो अन्यौलताबाट मुलुकलाई निकास दिन सकिन्छ । मुलुकलाई शान्त र समुन्नत बनाउन जादुको छडी घुमाएको जस्तो सजिलो छैन । मुलुक निर्माणको लागि दूरदृष्टि भएका राजनेताहरूको खाँचो अहिले तड्कारो रुपमा देखा परेको छ । मुलुक निर्माणको लागि एकमात्र अचुक अस्त्र सहमति, सहकार्य र एकता नै हो, यो भन्दा अर्को उपाय छ जस्तो मलाई लाग्दैन ।

मुलुकमा अहिले व्याप्त भ्रष्टाचार बढेको छ । भ्रष्टाचार न्यूनीकरणमा तपाईहरूको भूमिका के रहन्छ ?

मुलुक अहिले भ्रष्टाचारको दलदलमा फसेको सत्य हो । जनताको सेवा गर्न भनी खुलेका राजनीतिक दलका नेताहरूले नै भ्रष्टाचार गरिरहेका छन् । पालैपालो सरकारमा जाने आफू निकट मान्छेहरूलाई नियुक्त गर्ने र भ्रष्टाचारलाई प्रसय दिने काम यीनै राजनीतिक दलका नेता कार्यकर्ताबाट हुँदै आएका सर्वविदितै छ । राप्रपाले भ्रष्टाचारको घोर निन्दा र विरोध गर्दै आएको छ । स्थानीय प्रदेश र केन्द्रीय सरकार समक्ष हामीले भ्रष्टाचार न्यूनीकरणका लागि सरकारको ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएका छौं । भ्रष्टाचार सम्बन्धी जनचेतना फैलाउने उद्देश्यले विभिन्न पर्चा, पम्पलेट र आमनागरिकसँग  संवाद गरिरहेका छौं । प्रत्येक गाउँ टोल वस्तीमा पुगि भ्रष्टाचारका विषयमा बुझाएका छौं र त्यसका विरुद्ध प्रतिकारमा उत्रन प्रोत्साहित गरेका छौं ।

राष्ट्रियताको सवालमा राप्रपाको भूमिका के रहन्छ ?

राष्ट्रियताको सवालमा राप्रपाको भूमिका सधै महत्वपूर्ण र सकारात्मक रहँदै आएको छ । मुलुकको समग्र विकास, सुशासन र शान्ति प्रक्रियामा राप्रपाले खेलेको भूमिकाका विषयमा आमनागरिक जानकार छन् । राष्ट्रघाती सन्धि सम्झौतामा राप्रपा कहिलै सहभागी भएको छैन । राष्ट्रप्रति राप्रपाले कहिलै घात गरेको छैन ।

के राप्रपा मुलुकको नेतृत्व लिन सक्षम छ त ?

राप्रपा मुलुकको नेतृत्व लिन सक्षम छ । किनकी राप्रपाले राष्ट्रलाई माया गर्छ, देशको विकास गर्न चाहन्छ । राप्रपा इमान्दार भएकै कारण जनताको विश्वास राप्रपा प्रति वढ्दै गएको छ । तपाईहरूले विगतलाई पनि हेर्ने सक्नुहुन्छ । २०५१/०५२ सालमा राप्रपाले सफलतापूर्वक मुलुकको नेतृत्व लिएको तपाइँ हामी माझ छर्लङ्ग छ । ०५१ सालको संसदीय निर्वाचनमा मुलुकका सचेत मतदाताहरुले मुलुकको नेतृत्व गर्ने साँचो राप्रपालाई दिएको सर्वविदितै छ । जनताको माया र विश्वासका कारण हामी पुनः मुलुकको नेतृत्व लिने सोंचका साथ अघि बढिरहेका छौं ।

अहिले रासायनी मल नपाई किसान छटपटाइ रहेका छन् । सहज तरिकाले मल आपूर्तीका लागि तपाइँहरूको भूमिका के रहन्छ ?

अहिले खेतीपातीको समय शुरु भएको छ । यस्तो अवस्थामा किसानले मल बिउ नपाउनु दुखद पक्ष हो । कृषि प्रधान देशमा किसान मल बिउ नपाइ छटपटाइ रहँदा सरकार रमिते बनेको छ । किसानका माग सम्बोधन नगरी सत्ता बाँडचुडीमा यो सरकार लागेको छ । हामीले पटकपटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएका छौं । भर्खरै मात्र राप्रपा दाङले किसानलाई सहज तरिकाले मल विउ उपलब्ध गराइयोस् भन्दै कृषि ज्ञान केन्द्रका प्रमुखलाई ज्ञापनपत्र बुझाएका छौं । किसानको समस्या प्रति राप्रपा दाङ चिन्तित छ । तत्काल किसानको माग सम्वोधनका लागि राप्रपाले दवावमुलक कार्यक्रम अघि सारेको छ । किसानको समस्या प्रति राप्रपा संवेदशील हुँदै मल बिउ सहज तरिकाले आपूर्तीका लागि सरकारसँग जोड्दार माग गर्दछ ।

तपाई राप्रपाको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको केन्द्रीय सदस्य पनि हुनुहुन्छ । अहिले संगठनको अधिवेशन आइरहेको छ । तयारी कस्तो छ ?

राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको राष्ट्रिय अधिवेशन छिट्टै हुन गइरहेको छ । अधिवेशनका लागि सम्पूर्ण तयारी भइसकेको छ । कुन समय र कुन मितिमा गर्ने भन्ने केन्द्रीय कमिटीको बैठकले टुंगो लगाउने छ । देशका ७७ जिल्लाका संगठनका साथीहरू अधिवेशनको तयारीमा लागिसकेको व्यहोरा यहाँहरूलाई जानकारी गराउन चाहन्छु ।

दैनिक उपभोग्य वस्तु र पेट्रोलियम पदार्थमा भएको मूल्य बृद्धिका कारण आम नागरिकलाई सास्ती भएको छ । यस विषयमा राप्रपाको धारण के छ ?

सरकारले गरेको दैनिक उपभोग्य वस्तु र पेट्रोलियम पदार्थको मूल्यवृद्धि खेदजनक छ । जनताको भावना विपरित सरकारले मूल्य बृद्धि गरेको छ जो सरासर गलत छ । मूल्यवृद्धिका विरुद्धमा राप्रपाले सरकारको पटकपटक ध्यानाकर्षण गराउँदै आएको छ । राप्रपा दाङले मूल्यवृद्धिका विरुद्ध प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।  जनताको ढाड सेक्ने गरी गरिएको मूल्यवृद्धि हामीलाई सह्य छैन । तत्काल मूल्यवृद्धि फिर्ता नभए चरणबद्ध आन्दोलन गर्ने तयारीमा राप्रपा जुटेको छ ।

मुलुक धर्मनिरक्षेप भईसकेपछि राप्रपाले हिन्दु राष्ट्रको माग गर्नु न्यायोचित छ ?

राप्रपाले हिन्दुराष्ट्रको माग गर्नु न्यायोचित छ । हामी प्राचीन संस्कृतिका परिपोषक र नविन उदारवादी राज्य व्यवस्थाका निर्माताको रुपमा उपस्थित भएका छौ । राप्रपाले जनताको चाहनाअनुसार नै हिन्दुराष्ट्रको माग गरेको छ । ९४ प्रतिशत ॐ कार परिवार मुलुकभित्र रहेका छन् जो हिन्दुराष्ट्रप्रति आस्थावान छन् । आफ्नो धर्म, संस्कृति र परम्परा पहिचानको लागि जनताले हिन्दु राष्ट्रको माग गरेका छन् । राप्रपा जनताको पार्टी भएकाले जनताको इच्छाअनुसार चल्ने गरेको छ । राप्रपाले विगतदेखि नै हिन्दुराष्ट्र कायम गराउनलाई सडकदेखि सदनसम्म आवज उठाउदै आएको छ । नेपाल हिन्दु राष्ट्र घोषणा हुनै पर्छ ढिलो चाँडो त्यो नभई सुखै छैन । हिन्दु राष्ट्र कायम गर्नका लागि हामीले विभिन्न कार्यक्रमहरु लिई जनता माझ पुगिरहेका छौं । हाम्रो पार्टीले यहाँको धर्म, संस्कृति, परम्परा, रीतिरिवाजको संरक्षण र सम्वद्र्धन गर्दै मुलुकलाई विश्वको एक मात्र हिन्दुराष्ट्र घोषणा गराउने दृढ संकल्प साथ अघि बढेको व्यहोरा यहाँहरुलाई जानकारी गराउन चाहन्छु ।

सरकार संघ र प्रदेशको चुनाव गराउने तयारीमा जुटेको छ । राप्रपा कुन एजेण्डा बोकी जनतामाझ जाँदैछ ?

राष्ट्रियता, प्रजातन्त्र, उदारवाद सहित संवैधानिक राजतन्त्र हिन्दुराष्ट्रको एजेण्डा बोकी राप्रपा जनतामाझ गईरहेको छ । राप्रपाले राष्ट्रियताको विषयमा सबै एकबद्ध हुनको लागि आह्वान गर्दै जनतामाझ पुगेको छ । संवैधानिक राजसंस्था र हिन्दुधर्मका विषयमा कुरा बुझाउन राप्रपा जनताको घरघरमा पुगेको छ । राष्ट्रियताका मुद्दाहरू जनता माझ लिएर गएको छ । सरकारले गरेका गलत कामहरुको भण्डाफोर जनता माझ गर्दै जनचाहना अनुसार काम गर्दै आइरहेको व्यहोरा तपाईहरु माझ जानकारी गराउन चाहन्छु ।

राजसंस्था पुनःस्थापित हुने सम्भावना कत्तिको छ ?

जनताको चाहना संवैधानीक राजसंस्था भएकाले अब छिट्टै मुलुकमा राजसंस्था पुनःस्थापित हुन्छ भन्नेमा हामी ढुक्क छौं । अहिले राजसंस्थाकै पक्षमा जनलहर बढेको देख्न सकिन्छ । देशका ७७ वटै जिल्ला बाट राजसंस्थाको पक्षमा आवाज उठ्न थालेको छ । विश्वको इतिहास हेर्ने हो भने पनि विभिन्न मुलुकमा पुनःराजसंस्था स्थापित भएको इतिहास हाम्रा सामु छन । राजनीतिको शब्दकोषमा असम्भव भन्ने केही पनि हुँदैन । यदि जनताले चाहे भने जस्तोसुकै कार्य पनि सम्भव भई छोड्छ । हामीले विश्व इतिहासलाई हेर्यौं भने पनि त्यस्ता कयौं उदाहरणहरु हाम्रा सामु छन् । मुलुकमा सर्वेसर्वा जनता हुन्, यदि जनताको चाहना राजसंस्था पुनःस्थापित गराउने भयो भने राजसंस्था अवश्य पुनःस्थापित हुन्छ ।

प्रकाशित मिति : २०७९ असार १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस