अवस्था र व्यवस्था परिवर्तनका लागी सहकार्य गरौः शर्मा

नेपाली कांग्रेस विपीका केन्द्रिय सदस्य एवंम दाङ जिल्ला सभापती गोबिन्द प्रसाद शर्मासँग समसामायिक राजनीतीक विषयमा केन्द्रित रहेर अनिल अधिकारीले गरेको कुराकानीको सारसंक्षेपमा…

गोविन्द प्रसाद शर्मा
केन्द्रिय सदस्य
नेपाली कांग्रेस विपी.

स्वागत छ यहालाई हाम्रो संचारमाध्यमको कुराकानीमा ?

धन्यवाद !

नेपाली कांग्रेस विपी गठन हुनुका पछाडी के कारण छन् ?

संघिय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाबाट नेपालको भविष्य छैन । संवैधानिक राजसंस्था सहितको व्यवस्था र २०४७ को संधिान अनुरुप मुलुक अगाडी बढ्न सक्छ भन्ने ठम्याई का साथ नेपाली कांग्रेस विपी गठन भएको हो । नेपाली काग्रेसले बिपि कोइरालोको मुलभूत सिद्धान्त, बिचार भावना विपरित आफना काम कर्तब्यलाई बिर्सदै गएका कारण नेपाली काँग्रेस बिपिको जन्म भएको म यहाँहरुलाई जानकारी गराउन चाहन्छु । नेपाली काँग्रेस बिपिले राजसंस्था सहितको हिन्दुराज्य बहुदलिय व्यवस्था हिन्दु राष्ट्र कायम गराउदै जनतालाई अमन चयन प्रदान गर्नु नेपाली कांग्रेस विपीको प्रमुख उदेश्य हो । धर्म निरक्षेप, गणतन्त्र र संघियता देश र जनताका लागी अनपयुक्त रहेकाले पनि विपी कोइराला कृष्ण प्रसाद भट्राई गणेशमान सिंह सुवर्ण शम्सेर राणा लगायतका नेताहरुले बनाएको सिद्धान्त राष्ट्रियता, प्रजातन्त्र र समाजवादले नै देश र जनताको पक्षमा काम गर्न सक्ने भएकाले सोही अनुरुप नेपाली कांग्रेस विपी अघि बढेको छ । हरेक नेपालीको सुख दुःखमा साथ दिने र नेपालमा विकासको लहर ल्याई समृद्ध नेपाल बनाउनका लागी नेपाली कांग्रेस विपी को गठन गरिएको हो ।

नेपाली कांग्रेससंग सक्ता र शक्तिका विषयमा कुरो नमिल्दा नेपाली कांग्रेस विपी गठन भएको हो भन्ने आम जनमानसको बुझाई छ, वास्तविकता के हो ?

सक्ता र शक्तिका विषयमा नेपाली कांग्रेससँग कुरो नमिल्दा नेपाली कांग्रेस विपी गठन भएको हो भन्ने कुरामा कुनै सत्यता छैन । यो नेपाली कांग्रेस विपीलाई वदनाम गराउन गरिएको हल्ला मात्र हो । हामीले विगतदेखि भन्दै आएका छौँ, नेपाल र नेपालीका लागी २०४७ को संविधान उत्कृष्ट छ । सो संविधानमा राजा देखि रैतिसम्म सवै अटेका थिए, मिलेर बसेका थिए । देशमा सुशासन थियो, शान्ति थियो, विकासले फड्को मारिरहेको थियो । त्यसैले त्यो व्यवस्था उत्कृष्ट थियो । तर अहिलेको संघिय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामा व्याप्त भ्रष्टाचार, कुशासन, कमिसनतन्त्र, नातावादले जरो गाडेको छ । संघियताका कारण देश बर्वाद भएको छ । देशमा सुशासन र संवृद्धिको लागी नेपाली कांग्रेस विपी गठन भएको हो ।

नेपाली कांगे्रस विपीको सांगठनीक अवस्था कस्तो छ ?

नेपाली कांग्रेस विपीको सांगठनीक अवस्था एकदमै राम्रो र मजवुत छ । देशका ५८ जिल्लामा विपी काँग्रेसको जिल्ला कार्यसमिती रहेको छ । वाकी जिल्लामा पनि छिट्टै जिल्ला कार्य समिती गठन हुने प्रकृयामा छ । विपी कोइरालालाई आदर्श मान्नेहरुको ठूलो तप्का विपी कांग्रेस प्रति आवद्ध भईरहेका छन् । नेपाली काँगे्रस विपी प्रति जनलहर बढेको छ । जनताको आशा र भरोसााको पार्टी नेपाली कांग्रेस विपी बन्ने कुरामा कुनै संका छैन ।

संवैधानिक राजसंस्था र हिन्दुराज्य पुनः स्थापना सहितको व्यवस्थाको विषयमा वकालत गरीरहनु भएको छ, के त्यो सम्भव छ ?

राजनितीमा असम्भव भन्ने शव्दावली नै हुदैन । प्रजातन्त्रमा जनता सर्वेसर्वा हुन्छन् । जनताले चाहे भने जुन सुकै व्यवस्था ल्याउन सक्छन् भन्ने उदाहरण तपाइ हाम्रो सामु छरलङ्गै छन् । २०४६ को आन्दोलनमा व्यवस्था परिवर्तनका लागी जनता जागेका थिए । २०६२/०६३ को आन्दोलन बाट व्यवस्था परिवर्तनका लागी जनता जागेका हुन् । अब फेरि यो व्यवस्था परिवर्तनका लागी जनता जाग्छन् र यो व्यवस्था परिवर्तण हुन्छ भन्ने कुरामा हामी ढुक्क छौ । जनता अब सचेत भैसकेका छन् । राजसंस्था प्रति जनताको आकर्षण दिनप्रति दिन बढिरहेको छ । देशमा व्याप्त भ्रष्टाचार र कुशासनका कारण जनता निरास बनेका छन् । यस्तो अवस्थामा देशलाई सहि दिशामा मार्ग निर्देशन गर्न सक्ने राजसंस्था मात्र हो भन्ने कुरा जनताले बुझेका कारण संवैधानिक राजसंस्था पूनः स्थापना हुन्छ भन्ने कुरामा हामी विश्वस्त छौं ।

अहिलेको व्यवस्था परिवर्तणका लागी विभिन्न पार्टी र सामाजिक अभियान्ताहरु संग एकता गर्नु भएको छ, तपाईहरुको एकताले व्यवस्था परिवर्तण हुन्छ ?

नेपाली कांग्रेस विपीको नेतृत्वमा राजसंस्थावादी, वैदिक सनातन हिन्दु धर्म प्रति आस्था राख्ने, सामाजिक एवम धार्मिक संघसंस्था र अभियान्ताहरुसंग एकता गरेका छौँ । व्यवस्था परिवर्तनका लागी सहमति, सहकार्य र एकता हुनु राम्रो पक्ष हो । थोपा थोपा पानी मिली समुन्द्र बनेझैँ हामी पनि भोलीका दिनमा ठूलो शक्तिको रुपमा सडकमा आयौँ भने व्यवस्था परिवर्तण हुन्छ भन्ने हाम्रो विश्वास हो । यो व्यवस्थाले देशलाई कङगाल बनाएको छ । युवा विदेश पलायन भएका छन् । भ्रष्टाचारले जरो गाडेको छ । चारैतिर व्यथिती र विसङ्गती बढेको छ । परिवारवादमा नेता रमाएका छन् । यस्तो अवस्थामा सहमती, सहकार्य र एकता गर्दै विचार मिल्नेहरु संगठित हुदै व्यवस्था परिवर्तणमा लाग्न म सम्पूर्ण आमाबुबा, दाजुभाई, दिदिबहिनीहरुलाई हार्दिक अनुरोध गर्दछु ।

देशमा व्याप्त भ्रष्टाचार बढेको छ, यस विषयमा नेपाली कांग्रेस विपी मौन देखिएको छ नी ?

व्याप्त भ्रष्टाचारका विषयमा नेपाली कांग्रेस विपी विगतदेखि नै बोल्दै आएको छ । २०४७ साल देखि हाल सम्म देशको उच्च ओहदामा रहेका सवै व्यक्तिहरुको सम्पत्ति छानविन हुनुपर्छ भन्दै निरन्तर आवाज उठाउने र राजधानी केन्द्रित आन्दोलन गर्ने पार्टी नेपाली कांग्रेस विपी हो । सुशासनको विकृती नै भ्रष्टाचार हो । यसको नियन्त्रण हुनुपर्छ । भ्रष्टाचारका विरुद्ध नेपाली कांग्रेस विपीले देशव्यापी रुपमा आन्दोलनको तयारी गरेको म यहाहरुलाई जानकारी गराउन चाहन्छु ।

शान्ति, सुशासन र समृद्ध नेपाल निर्माणमा नेपाली कांग्रेस विपीले जनतामाझ कस्ता कार्यक्रम ल्याएको छ ?

नेपाली कांग्रेस विपीले शान्ति, सुशासन र समृद्ध नेपाल निर्माणका लागी जनता माझ जनचेतना मुलक कार्यक्रम गर्दै आएको छ । वेथिती, कुसाशन र भ्रष्टाचारका विरुद्ध निरन्तर आवाज उठाउदै सम्बन्धीत निकायमा ज्ञापनपत्र बुझाउदै खबरदारी गरिरहेको छ । नेपाली कांग्रेस विपीले संगठन सुद्धडीकरण का लागी नेता कार्यकर्ता सवैलाई परिचालन गरेको छ । प्रत्येक गाउँटोल वस्तीमा विपीको विचार मुल्य मान्यता का विषयमा बुझाउदै जनपक्षिय काममा हातेमालो गर्दै आएको सर्वविदितै छ । विपी कोईरालाले देखाएको बाटोमा हिड्न सकियो भने मुलुकले छिटै विकासको फड्को मार्ने र जनता सुखी हुने कुरामा आम जनतालाई विपीका विचार बुझाउनु पनि नेपाली कांग्रेस विपी को कर्तव्य हो । सोही कारणले पनि हामी अहिले जनतामाझ पुगिरहेका छौ ।

नेपाली कांग्रेस विपीले जनपक्षिय के काम गरेको छ ?

नेपाली कांग्रेस विपीले जनपक्षिय काम धेरै गरेको छ र हालसम्म गर्दै पनि आएको छ । हामी सक्ता र शक्तिमा नपुगेका कारण पनि हामीले गरेका जनपक्षिय काम आझेलमा पर्ने गरेका छन् । २०७२ सालमा आएको विनासकारी भुकम्प को बेला जनताको घरदैलोमा हामी राहत प्रदानका लागी पुगेका थियौ । भुकम्प पीडित दुःखमा छटपटाई रहेको बेलामा हामी पीडितहरु संगसंगै उनीहरुको घाउमा मल्हम लगाईरहेका थियौ । कोरोना को महामारीमा पनि हामी जनता माझ नै थियौ । कोरोना पीडितहरुलाई सहयोग गरिरहेका थियौ । अलपत्र पैदल यात्रीलाई गण्तव्यसम्म पुगाउने व्यवस्था गरेका थियौ । प्राकृतिक विपतको समयमा पनि हामी जनता माझ थियौ । आजका मिती सम्म पनि हामी जनताको सेवामा छौ ।

नेपाली कांग्रेस विपीको आगामी कार्यक्रम के रहेका छन् ?

नेपाली कांग्रेस विपीले देश र जनताका लागी उत्कृष्ट व्यवस्थाको कल्पना गरेको छ । जुन व्यवस्थामा सबैको समान हक र अधिकार रहने छ । २०४७ सालको संविधानलाई पूनः स्थापित गर्दै संवैधानिक राजसंस्था वैदिक सनातन हिन्दु अधिराज्यको विषयमा जनलहर बढाउन जनता माझ जाने तयारीमा जुटेको छ । जसका लागी हामी संगठित भैरहेका छौ । जनताका मुलभूत समस्या के हुन्, जनताका इच्छा चाहना के रहेका छन् भन्ने विषयलाई प्राथमिकतामा राखी जनताको घरदैलोमा पुग्ने तयारीमा छौ । जनताकै सल्लाह सुझाव अनुसार आगामी कार्यक्रम तयार गरिने यहाँहरुलाई जानकारी दिन चाहन्छु ।

तपाईका शुभेच्छुकलाई केहि भन्नु छ ?

हामी अहिलेको व्यवस्था विरुद्धको आन्दोलनको तयारीमा छौ । देशमा बढेको कुशासन भ्रष्टाचार विरुद्ध लागेका छौ । सिमित व्यक्तिहरु मोटाउने र जनता दिनप्रतिदिन दुब्लाउदै जाने व्यवस्था अन्त्यका लागी सहमती, सहकार्य र एकता का लागी एकजुट हुन मेरा शुभेच्छुक हरुलाई हार्दिक अनुरोध गर्दछु ।

अन्त्यमा …………………?

मलाई समसामयिक राजनीतिक विषय र नेपाली कांग्रेस विपी का गतिविधिका विषयमा आफ्ना विचारहरू राख्ने सु–अवसर प्रदान गर्नुभएकोमा तपाई लगायत यस संचारमाध्यमलाई धन्यवाद !

प्रकाशित मिति : २०८१ भाद्र ४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस