“राजा, धर्म र विकासको एजेन्डासहित चुनावी अभियान : पोख्रेल

आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दाङ क्षेत्र नं. २ मा प्रत्यक्षतर्फ उम्मेदवारी दिनुभएका ऋषिराज पोख्रेलसँग उहाँको चुनावी अभियान र एजेन्डाका विषयमा गरिएको कुराकानीको सम्पादित अंश :

चुनावी अभियान कस्तो चलिरहेको छ ?
म पहिलो पटक निर्वाचनमा प्रतिस्पर्धा गर्दैछु । यसअघि प्रत्यक्ष रूपमा चुनाव नलडे पनि राजनीतिक अनुभव भने बटुलेको छु । विषम परिस्थितिमा हुन गइरहेको यो निर्वाचनमा नेता तथा कार्यकर्ताहरू उत्साहका साथ सहभागी भइरहनुभएको छ । मेरो चुनावी अभियान राम्रो ढंगले अघि बढिरहेको छ । शुभेच्छुकहरू उत्साहित हुनुहुन्छ । दाङ क्षेत्र नं. २ का सबै मतदाताको घरदैलोमा पुग्ने प्रयास गरिरहेको छु । म पुग्न नसकेको ठाउँमा साथीहरू पुगिरहनुभएको छ । चुनावी माहोल क्रमशः सकारात्मक बन्दै गएको महसुस गरेको छु ।

विषम परिस्थितिमा हुन लागेको निर्वाचनले समस्या समाधान गर्न सक्छ ?
प्रजातन्त्रमा निर्वाचन नै उत्तम विकल्प हो । सर्वपक्षीय सहमतिमा निर्वाचन भएको भए अझ राम्रो हुने थियो । देशलाई अहिले स्थायित्व र निकास आवश्यक छ । त्यसैले हाम्रो पार्टीको मुख्य एजेन्डा राजासहितको प्रजातन्त्र, संघीयता खारेज र हिन्दु राष्ट्र स्थापना हो । अहिले देखिएको नयाँ पुस्ताको आन्दोलनपछि नयाँ समझदारी आवश्यक छ । राजा, राजनीतिक दल र नयाँ पुस्ता मिलेर देशलाई निकास दिन सकिन्छ ।

अहिलेको असहज अवस्थाको निकास चुनावले दिन्छ ?
चुनावले पूर्ण निकास देला–नदेला भन्न सकिँदैन, तर परिस्थितिले चुनावमा जानुपर्ने बाध्यता सिर्जना ग¥यो । त्यसैले हामी पनि चुनावमा होमिएका छौं । घरदैलो अभियानका क्रममा जनतासँग भेटघाट भइरहेको छ । राजसंस्थाप्रतिको भावना र नयाँ पुस्ताको मागलाई सम्बोधन गर्दै अघि बढे देशले निकास पाउन सक्छ भन्ने विश्वास छ ।

तपाईंहरूका प्रमुख एजेन्डा के–के हुन् ?
धर्म र संस्कृतिको संरक्षणका लागि राप्रपालाई विजयी गराउनु आवश्यक छ । सुशासन कायम गर्न भ्रष्टाचार नियन्त्रण पहिलो प्राथमिकता हो । २०४६ सालपछिका नेताहरूको सम्पत्ति छानबिन गर्न नागरिक आयोग गठन गर्ने हाम्रो प्रतिबद्धता छ । मुलुक गम्भीर अवस्थाबाट गुज्रिरहेको छ । लोकतन्त्र, धर्म–संस्कृति संरक्षण र विकासका लागि राप्रपा निर्वाचनमा होमिएको हो ।
राजा सबैका साझा संस्था हुन्, राप्रपाका मात्र होइनन् । हामीले राजालाई राष्ट्रको अभिभावकका रूपमा पुनः स्थापित गर्ने एजेन्डा अघि सारेका छौं । अहिले धेरै नागरिकले राजसंस्थाको आवश्यकता महसुस गर्नुभएको छ ।

विगतका चुनावमा राप्रपाले अपेक्षित मत ल्याउन सकेन भन्ने टिप्पणी छ नि ?
अहिले जनता धेरै सचेत भएका छन् । विगतभन्दा अहिले राजसंस्थाको आवश्यकता झन् बढी महसुस गरिएको छ । देशमा भ्रष्टाचार, हत्या–हिंसा र बेथिति बढेको छ । त्यसैले जनता विकल्प खोजिरहेका छन् । अहिले राष्ट्रिय प्रजातन्त्र पार्टी नै विकल्पका रूपमा अगाडि आएको छ ।

घरदैलो अभियानमा जनता के भन्छन् ?
हामी घरघरमा पुगेर भेटघाट गरिरहेका छौं, भोट मागिरहेका छौं र जनताका गुनासा सुनिरहेका छौं । ठूला दलले भ्रष्टाचार गरे, सडक–पुल निर्माण भएनन्, सिँचाइको व्यवस्था छैन, मल–बिउ समयमा पाइँदैन भन्ने गुनासा धेरै सुन्न पाइन्छ । हरेक चुनावमा भाषण मात्रै हुने तर काम नहुने भन्ने जनताको गुनासो छ ।
हामी नयाँ नेतृत्वसहितको विकल्प भएको बताएका छौं । युवा नेता राजेन्द्र लिङ्देन नयाँ विचारसहितका नैतिकवान नेता हुनुहुन्छ । धर्ममा विश्वास गर्ने पार्टी भएकाले पनि हामीप्रति जनताको विश्वास बढ्दै गएको छ ।

जनताले तपाईंलाई किन भोट हाल्ने ?
म विद्यार्थी राजनीतिदेखि संघर्ष गर्दै आएको व्यक्ति हुँ । काम गर्न सक्ने नेताको रूपमा पहिचान बनाएको छु । जनताको समस्या के हो भन्ने कुरा नजिकबाट बुझेको छु । मल–बिउ अभाव, सडक–पुल, खानेपानी र सिँचाइका समस्या समाधान गर्न प्रतिबद्ध छु । म भाषण गर्ने मात्रै होइन, काम गर्ने नेता हुँ । त्यसैले मतदाताले मलाई विजयी गराउनुहुने विश्वास लिएको छु ।

अन्त्यमा केही भन्नु छ ?
राष्ट्रिय प्रजातन्त्र पार्टीको उम्मेदवार र एजेन्डा दुवै राम्रो छन् । हाम्रो मुख्य एजेन्डा दिगो शान्ति, विकास, संघीयता खारेजी र हिन्दु राष्ट्र स्थापना हो । राजा, दल र नयाँ पुस्ता मिलेर अघि बढे देशले निकास पाउँछ भन्ने विश्वास छ । हलो चिन्हमा मत दिएर विजयी गराइदिन सबै मतदातासमक्ष अनुरोध गर्दछु ।

प्रकाशित मिति : २०८२ फाल्गुन १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस