अवैध रूपमा अमेरिका प्रवेश गर्न लागेका दुई लाख १० हजार आप्रवासी समातिए

वासिङटन । अमेरिकाले मेक्सिकोको सीमाबाट अवैध रूपमा आफ्नो देश प्रवेश गर्न खोज्ने दुई लाख १० हजार आप्रवासीलाई गिरफ्तार गरेको छ । अमेरिकी सीमा अधिकारीहरूले मार्च महिनामा मात्रै सो संख्यामा आप्रवासी गिरफ्तार गरेका हुन् ।

यो संख्या एकै महिनामा पक्राउ परेको दुई दशकयताकै सबैभन्दा धेरै हो भने गत वर्षको भन्दा २४ प्रतिशतले बढी हो । गत वर्ष मार्चमा एक लाख ६९ हजार आप्रवासी समातिएका थिए ।

हालैका महिनाहरूमा अमेरिका–मेक्सिको सीमामा भेटिएका आधाभन्दा बढी आप्रवासीहरू पहिलेदेखि नै पठाउँदै आएका मेक्सिको, ग्वाटेमाला, होन्डुरस र एल साल्भाडोरका हुन् । तर, युक्रेन र रुसलगायत धेरै टाढाका ठाउँहरूबाट पनि आप्रवासीहरू अमेरिका प्रवेश गर्ने क्रम बढेको छ ।

आप्रवासीको विषय अमेरिकी राष्ट्रपति जो बाइडेनका लागि चुनौतीपूर्ण हुने देखिएको छ । उनले आफ्ना रिपब्लिकन पूर्ववर्ती राष्ट्रपति डोनाल्ड ट्रम्पको कट्टरपन्थी आप्रवासी नीतिबाट पछाडि फर्कने वाचा गरेका थिए । तर, सीमा पार गर्न खोज्ने उच्च संख्यासँग परिचालन र राजनीतिक रूपमा संघर्ष गर्नुपरेको छ ।

रिपब्लिकनहरूले ट्रम्पकालीन नीतिहरूबाट पछि हट्ने बाइडेनको कदमले अवैध आप्रवासनलाई प्रोत्साहित गरेको आरोप लगाउने गरेका छन् । रोयटर्सबाट ।

प्रकाशित मिति : २०७९ बैशाख ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस