
काठमाडौं । फिल्म ‘२ नम्बरी’मा हिरो फेरिएका छन् । फिल्मको मुख्य कलाकार पलको स्थानमा सौगात मल्ल भित्रिएका हुन् । पल नाबालिग करणीको आरोपमा हिरासतमा रहेका कारण निर्माण युनिटले उनको ठाउँमा सौगात भित्र्याएको हो ।
२ वर्ष अगाडि शुभ साइत गरेर छायाङ्कन सुरु गर्दा फिल्ममा पल शाह मुख्य भूमिका थिए । तर, फिल्मको छायाङ्कन भइरहँदा कोरोना महामारीका कारण काम अगाडि बढ्न सकेन । फिल्मका कलाकार पल फेरिएका र एक कलाकार जयनन्द लामाको निधन भएकोले फिल्म सुरुबाटै खिचिने भएको छ ।
दीपेन्द्र लामाको निर्देशन रहने फिल्ममा दयाहाङ राई, सौगात मल्ल,वर्षा राउत,उगेन छोदेन लगायतका कलाकारको मुख्य भूमिका छ । आगामी ४ कार्तिकमा फिल्म रिलिज गरिने प्रस्तुतकर्ता किरण नेपालीले बताए । फिल्मका निर्माता दीपक मनाङ्गे र अमलादेवी राई हुन् । कार्यकारी निर्माता सरोज नेपाली रहेका छन् । फिल्मको छायाङ्कन १५ चैत्रबाट सुरु हुँदैछ ।