काठमाडौं । नेपालमा पहिलोपटक जापानी फिल्म ‘सोड आर्ट अनलाइन’को फ्यान प्रिमियर हुने भएको छ । विदेशी फिल्मको नेपाल वितरण कम्पनी एप्पल इन्टरटेनमेन्टले चैत १ गते फ्यान प्रिमियर गर्न लागेको हो ।
यो फिल्म चैत ४ गते नेपालका सिनेमा हलहरुमा रिलिज हुने जनाइएको छ । कम्पनीले सुपरहिरो फिल्म ‘माइ हिरो एकेडेमिया’सहित नेपालमा जापानी फिल्मको व्यावसायिक प्रदर्शन सुरु गरेको थियो ।
‘सोड आर्ट अनलाइन’ नेपालमा रिलिज हुने दोस्रो जापानी फिल्म बन्नेछ । तीन दिनअघि नै आयोजना हुने प्रिमियरमा फ्यानहरुले फिल्मका पात्रको गेटअपमा आफूलाई प्रस्तुत गर्ने कम्पनीका व्यवस्थापक रुबेन श्रेष्ठले बताए ।
जापानसहितको अन्तर्राष्ट्रिय बजारमा सोड आर्ट अनलाइनका सिरिजले व्यावसायिक सफलता पनि प्राप्त गरेका छन् । यो सिरिज यसका दुई प्रमुख पात्रहरु काजुतो किरितो किरिगाया र आसुना युकी वरपर फन्को मार्छ ।
भर्चुअल रियालिटी संसारका यी दुई पात्रले कसरी निकट भविष्यको संसारमा कसरी दर्शकलाई सयर गराउनेछन् भन्ने कथावस्तु फिल्ममा समेटिएको छ ।