
काठमाडौं । फेब्रअरी १४ अर्थात् भ्यालेन्टाइन डे । प्रेम गर्नेहरुका लागि यो दिन विशेष मानिन्छ । नेपाली चलचित्र क्षेत्रमा पनि केही यस्ता जोडी छन्, जसले आफ्नो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका छन् ।
निखिल उप्रेती र सञ्चिता लुइटेल

अभिनेता निखिल उप्रेती र अभिनेत्री सञ्चिता लुइँटेलले प्रेम विवाह गरेका हुन् । चलचित्र ‘माया त माया हो’मा सँगै काम गर्दा सुरु भएको यो जोडीको प्रेम केही समयपछि विवाहमा परिणत भयो । यसपछि यी दुई एकसाथ रमाउँदै आएका छन् । निखिल र सञ्चिताका दुई सन्तान समेत छन् ।
प्रियंका कार्की र आयुष्मान देशराज जोशी

अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीको प्रेम चलचित्रको छायांकनको क्रममा फक्रिएको हो । चलचित्र ‘कथा काठमाण्डू’को छायांकनका क्रममा सुरु भएको यी दुईको प्रेम केही वर्षसम्म चल्यो । आयुष्मान र प्रियंकाले आफ्नो प्रेम सम्बन्धलाई कहिले पनि लुकाएनन् । उनीहरुको प्रेमको खबर जति चर्चामा रह्यो, त्यति नै विवाहको खबरले पनि बजार ततायो । हाल यो जोडीको एक छोरी छिन् ।
वर्षा राउत र सञ्जोग कोइराला

अभिनेत्री वर्षा राउत र अभिनेता तथा व्यवसायी सञ्जोग कोइरालाले ६ वर्षसम्म चलेको प्रेम सम्बन्धलाई चार वर्षअघि विवाहमा परिणत गरेका हुन् । यो जोडीलाई प्रेममा हुँदा पनि एकअर्काको सम्बन्धलाई लुकाएनन् । यसैले यी दुईको जोडी धेरैका लागि उदाहरणीय पनि बनेको छ ।
सञ्जोग हाल आफ्नो व्यवसायमा बढी व्यस्त छन् भने वर्षा चलचित्र र म्युजिक भिडियोमा काम गरिरहेकी छन् ।
सुदर्शन थापा र सुप्रिया कटुवाल

निर्देशक सुदर्शन थापा र मोडल सुप्रिया कटुवालबीच पनि करिब एक वर्ष प्रेम सम्बन्ध चल्यो । यी दुईको प्रेमको खबर सार्वजनिक भएको केही समयमा नै उनीहरुले विवाह गरे । उनीहरु यसै वर्ष वैवाहिक जीवनमा बाँधिएका हुन् ।
सुप्रिया हाल टेलिभिजनमा समाचार प्रस्तोताको रुपमा कार्यरत छन् भने सुदर्शन चलचित्र निर्देशनमा नै व्यस्त छन् ।
निश्चल बस्नेत र स्वस्तिमा खड्का

निर्देशक निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्काको पनि प्रेम विवाह हो । सामाजिक सञ्जालबाट सुरु भएको कुराकानी प्रेममा बदलिएको केही समयमै उनीहरुले विवाह गरेका हुन् । स्वस्तिमाले सो समयमा ‘होस्टेल रिटन्र्स’ नामक चलचित्रमा मात्र काम गरेकी थिइन् । निश्चलले भने ‘लुट’, ‘टलकजंग भर्सेस टुल्के’ लगायतका चलचित्र निर्देशन गरिसकेका थिए ।
स्वस्तिमा र निश्चलको जोडी पनि उदाहरणीय जोडीको रुपमा चिनिन्छ । स्वस्तिमा निश्चल भन्दा १४ वर्ष कान्छी छन् ।
यसैगरी निर्देशक दिवाकर भट्टराई र अभिनेत्री दीपिका प्रसाइँले पनि प्रेमलाई बिहेमा परिणत गरेका हुन् । चलचित्र ‘ऐश्वर्य’मा काम गर्नुअघि नै दीपिका र दिवाकर प्रेममा थिए ।
निर्देशक रेनशा बान्तवा राई र निर्माता प्रज्ज्वलशमशेर जबराले पनि प्रेमलाई बिहेमा परिणत गरे ।