‘चपली हाइट ३’ र ‘कठपुतली’ पुनः प्रदर्शन

काठमाडौं । कोरोना महामारीको कारण देखाउँदै माघ ३ गतेबाट बन्द भएका सिनेमा हलहरु आजबाट खुलेका छन् । एक महिनापछि खुलेका हलहरुमा प्रदर्शनकै क्रममा रोकिएका दुई नेपाली फिल्म ‘चपली हाइट ३’ र ‘कठपुतली’ पुनः प्रदर्शनमा आएका छन् । सिनेमा हल बन्द हुँदा ‘चपली हाइट ३’ तीन दिन मात्र प्रदर्शन हुन पाएको थियो भने ‘कठपुतली’ को तेस्रो हप्तामा प्रदर्शन रोकिएको थियो ।

‘चपली हाइट ३’ का निर्माता अर्जुन कुमार आफूले दोस्रो मौका पाएको र दर्शकले साथ दिनेमा विश्वस्त देखिएका छन् ।

‘चपली हाइट ३’ र ‘कठपुतली’ लाई पुनः प्रदर्शनमा मल्टीप्लेक्सहरुले उच्च शो दिएका छन् । फागुन १३ गतेभन्दा अगाडि कुनै नयाँ नेपाली र ठूलो विदेशी फिल्म नभएकाले यी दुई फिल्मले दुई हप्ताको समय पाएका छन् । तर, फिल्म हेर्न जाने दर्शकले कोभिड खोप कार्ड भने अनिवार्य लिएर जानु पर्नेछ ।

निकेश खड्का निर्देशित ‘चपली हाइट ३’ मा स्वस्तिमा खड्का, लक्ष्मी वर्देवा, आमिर गौतम, महेश त्रिपाठी, प्रतिकमान श्रेष्ठ, अर्पण थापा, दीपाश्री निरौला लगायतको अभिनय छ । सस्पेन्स–थ्रिलर जनरामा बनेको फिल्मका निर्माता अर्जुन कुमार हुन् ।

त्यस्तै, हरर जनरामा निर्माण भएको ‘कठपुतली’ लाई भिमसेन लामाले निर्देशन गरेका हुन् । फिल्ममा मिथिला शर्मा, गौरी मल्ल, कर्मा, उषा रजक, शिल्पा मास्के, सुवर्ण थापा, ध्रुव कोइराला लगायतको अभिनय छ । पृथ्वी राना मगरले निर्माण गरेको फिल्मलाई जोएल फ्रूमले खिचेका हुन् ।

प्रकाशित मिति : २०७८ फाल्गुन १ गते आइतवार
प्रतिक्रिया दिनुहोस