भारतको उत्तर प्रदेशमा विधानसभाको निर्वाचन सुरु

काठमाडौं । भारतको उत्तर प्रदेश राज्यमा आजबाट विधान सभाको निर्वाचन सुरु भएको छ । निर्वाचन सात चरणमा सम्पन्न हुने छ ।

पहिलो चरणमा आज मुजफ्फरनगर, मेरठ, बागपत, गाजियावाद, शामली, हापुड, गौतमबुद्ध, बुलन्दशहर, अलिगढ, आगरा र मथुरा गरी ११ जिल्लामा मतदान भइरहेको छ । यी ११ जिल्लामा विधानसभाका ५८ सिटका लागि ६२३ जना उम्मेदवारहरू प्रतिस्पर्धामा छन् ।

सातौं अर्थात अन्तिम चरणको निर्वाचन आगामी ७ मार्च अर्थात् फागुन २३ गते हुने छ । निर्वाचनको परिणाम १० मार्चमा सार्वजनिक हुने छ ।

निर्वाचन सुरु हुनुअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड नियमको पालना गर्दै मतदानमा सहभागी हुन अपिल गरेका छन् । उनले भनेका छन्, ‘याद राख्नुहोला, पहिले मतदान अनि मात्र जलपान ।’

उत्तर प्रदेशमा यसअघि सन् २०१७ मा विधानसभा निर्वाचन भएको थियो । यो निर्वाचनबाट उत्तर प्रदेशको मुख्यमन्त्री पदमा को पुग्ला भन्ने चासो छ ।

प्रकाशित मिति : २०७८ माघ २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस