अनमोलले साइन गरे ‘हनी बनी’ चलचित्रमा

काठमाडौं । चलचित्र ‘एक्स ९’को तयारीमा रहेका नायक अनमोल केसीले नयाँ चलचित्र साइन गरेका छन् । चलचित्र ‘एक्स ९’को छायांकन अनिश्चित बनेपछि अनमोलले दिवाकर भट्टराइको निर्देशनमा बन्न लागेको नयाँ चलचित्र ‘हनी बनी’का लागि लिखित संझौता गरेका हुन् ।

दिवाकरले यो चलचित्र निर्माणको घोषणा केही समय अगाडि गरेपनि नायक र नायिकाको खोजी भने गरिरहेका थिए । उनले केही दिन अगाडि मात्र अनमोलसँग लिखित संझौता गरेका हुन् । कुनै पनि चलचित्र साइन गर्नका लागि लामो समय लगाउने अनमोलले ‘हनी बनी’ भने २ दिन कथा पढेर साइन गरेका थिए ।

दिवाकरका अनुसार, चलचित्रको कथा निक्कै मन पराएपछि अनमोलले लामो समय नसोचेका हुन् । यो चलचित्रको छायांकन मार्च महिनाबाट लण्डनमा हुनेछ । चलचित्र ‘एक्स ९’का लागि जुँगा पालेर, तौल समेत बढाएका अनमोलले चलचित्रको छायांकन अनिश्चित बनेपछि आफ्नो लुक्स परिवर्तन गरिसकेका छन् ।

एबी इन्टरनेशनलको प्रस्तुतिमा गौतम प्रोडक्शन र भ्वाइस फिल्मस् लिमिटेडको सहकार्यमा यो चलचित्र बन्न लागेको हो । चलचित्रमा अमित बस्नेत, अजित कुमार थापा र परि रानाको लगानी रहनेछ । चलचित्रका कार्यकारी निर्माता अंकित गौतम हुन् ।

चलचित्रका लागि नायिकाको खोजी भैरहेको उनको भनाई छ । लभ स्टोरी जनरामा नै बन्ने चलचित्रमा अनमोलको भूमिका फरक हुने निर्देशकको दाबी छ ।

प्रकाशित मिति : २०७८ माघ २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस