रवि तेजाको ‘खेलाडी’ नेपालमा रिलिज हुने

काठमाडौं । फागुन १ गतेबाट हल खुल्ने भएपछि नेपाली चलचित्रका निर्माताले पनि धमाधम प्रदर्शन मिति तय गर्न थालेका छन् । फागुन १ गते रिलिज हुँदाहुँदै हल बन्द भएपछि रोकिएका नेपाली चलचित्र ‘चपली हाइट ३’ र ‘कठपुतली’ पुनः हलमा लाग्दैछन् ।

योसँगै फागुन १ गतेबाट साउथको चलचित्र ‘खिलाडी’को हिन्दी डबलाई नेपालमा रिलिज गर्न लागिएको हो । यसअघि ‘पुष्पा’ नामक साउथ चलचित्र नेपाल भित्र्याएका वितरक मनोज राठी र उनको टिमले ‘खिलाडी’ प्रदर्शनको अधिकार लिएको छ ।

मनोजले भने, ‘हामीले साउथ चलचित्र ल्याउने विषयमा ‘चपली हाइट ३’का निर्मातासँग पनि कुराकानी गरेका थियौं । उहाँ पनि यो चलचित्र रिलिजमा सहमत हुनुहुन्छ । दर्शकलाई फेरि हलमा फर्काउनका लागि हरेक प्रकारका चलचित्र आवश्यक छ ।’

यो चलचित्रमा रवि तेजा, मिनाक्षी चौधरी, डिम्पल हायाथी लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रमा रमेश बर्माको कथा, पटकथा तथा निर्देशन रहेको छ ।

प्रकाशित मिति : २०७८ माघ २६ गते बुधवार
प्रतिक्रिया दिनुहोस