एमसीसीलाई चुनावसम्म रोक्न प्रचण्डको प्रस्ताव

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी आर्थिक सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)लाई चुनावसम्म रोक्ने प्रस्ताव गरेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले समेतको समर्थनमा चुनावपछि मात्र एमसीसी अगाडि बढाउने प्रस्ताव एमसीसीलाई पठाउन प्रचण्डले प्रस्ताव गरेका हुन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित प्रधानमन्त्री शेरबहादुर देउवाले आइतवार बोलाएको बैठकमा प्रचण्डले एमसीसीलाई चुनावसम्म थाती राख्ने प्रस्ताव गरेका हुन् ।

बैठकपछि नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रचण्डले एमसीसीलाई चुनावसम्म थाती राख्न प्रस्ताव गरेको जानकारी दिए । ‘प्रधानमन्त्रीको धारणा एमसीसीलाई अगाडि बढाउन सहयोग गर्नुपर्छ भन्ने थियो । प्रचण्डको चाहिँ चुनावसम्म यो विषयलाई थाती राख्न प्रतिपक्ष समेतको समर्थनमा प्रस्ताव पठाऔं भन्ने थियो,’ पोखरेलले भने ।

एमालेले भने वैदेशिक सहयोग र परराष्ट्र मामिलाको विषयमा पहिले सत्ता गठबन्धनले साझा दृष्टिकोण बनाउनुपर्ने सुझाव दिएको थियो ।

‘साथै बैठकमा स्थानीय तहको चुनाव घोषणा गर्न एमालेले गरेको आग्रहमा प्रधानमन्त्री देउवाले छिट्टै घोषणा गर्ने जवाफ दिएको पोखरेलले बताए ।

प्रकाशित मिति : २०७८ माघ २४ गते सोमवार
प्रतिक्रिया दिनुहोस