दाङ । तुलसीपुरमा टिप्परको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । टिपरको ठक्करबाट गम्भीर घाइते तुलसीपुर–११ कटाहाकी २१ वर्षीया कल्पना केसीको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी होमबहादुर पराजुलीले बताए।
गुम्राह चोकबाट तुलसीपुर बजारतर्फ आउँदै गरको क–प्र ००३ प २४४९ नम्बरको मोटरसाइकलले विपरित दिशाबाट जाँदै गरेको रा ५ प ७९४५ नम्बरको स्कुटीलाई बिहिबार ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट स्कुटी समान दिशातर्फ जाँदै गरेको तुलसीपुर उपमहानगरपालिकाको फोहोर बोक्ने रा १ ग २२ गाडी (टिपर) संग ठोक्किदा दुर्घटना भएको हो ।
गम्भीर घाइते उनलाई उद्धार गरी तत्कालै नजिकैको राप्ती प्रादेशिक अस्पताल पुर्याइएको थियो। उपचारका क्रममा चिकित्सकले साढे १ बजेपछि उनलाई मृत घोषणा गरेका थिए।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


