अमेरिकाको ५ राज्यमा हिमपात हुँदा आपतकाल घोषणा

काठमाडौं । अमेरिकाको पूर्वी तटीय क्षेत्रमा भारी हिमपातसँगै भएपछि पाँच राज्यमा आपतकाल घोषणा गरिएको छ । न्यूयोर्क, न्यूजर्सी, मेरील्याण्ड, रोड आइल्याण्ड र भर्जिनियाका सरकारले आपतकाल घोषणा गरेका हुन् ।

अत्यधिक हिमपातका कारण सडक, विद्युत र हवाई उडानहरु अवरुद्ध भएका छन् । शुक्रबारदेखि आइतबारसम्मको अवधिमा करिब ६ हजार उडानहरु रद्ध भएका बीबीसीले जनाएको छ ।

नोइस्टर भनेर चिनिने हिम आँधीका कारण केही स्थानमा शनिबार साँझदेखि नै ६१ सेन्टिमिटर (दुई फिट)सम्म हिउँ जमेको थियो ।

यो आँधी क्यारोलिनासदेखि मेनसम्म फैलिने आशंका छ । यो चिसो हावा समुद्रको तातो हावासँग मिसिने र वायुमण्डलमा नयाँ चापीय प्रणाली विकसित हुने अनुमान छ ।

बोस्टनको राष्ट्रिय मौसम सेवाले अत्यावश्यक काम भएमा मात्रै घरबाट बाहिर निस्किन सूचित गरेको छ । ‘यदि तपाईंलाई यात्रा गर्नै पर्ने छ भने चिसोबाट जोगिने सामान राख्नुस् । यदि बाटैमा फस्नु भयो भने गाडि भित्रै रहनुस्,’ सूचनामा भनिएको छ ।

प्रकाशित मिति : २०७८ माघ १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस