ती स्वर्णिम दिनहरू……….

सबैको बाल्यकाल स्वर्णिम र सम्झन लायक हुन्छ । बालापनमा घट्ने गरेका अनेक थरी घटना अहिले पनि मानस पटलमा आइरहन्छन् । बाल्यकालका साथीसँग भएका, गरेका हरेक क्रियाकलापलाई फिल्मको रिल जस्तै एकपछि अर्को दृश्य सम्झदै बस्ने हो भने साँच्चै नै स्वर्गीय आनन्दको प्रत्याभूति हुन्छ । सायद हामी अधिकांश नेपालीहरुको बाल्यकाल एउटै तरिकाले बित्छ जस्तो लाग्छ किनकी भौगोलिक रुपमा सानो देश भएकाले एक ठाँउको रहनसहन अर्को ठाँउसँग मिल्ने र केही सानो हिस्सा बाहेकका नेपालीहरुको आर्थिक हैसियत लगभग एउटै छ ।

त्यसैले सबैको समस्याको प्रकृति एउटै छ । बाल्यकाल र वयस्क अवस्थामा आईपुग्दा सबै क्रियाकलापहरु जो अधिकांश नेपालीको मन मुटुमा गडेर रहेको हुनुपर्छ । त्यो समयमा हरेकका चाहना मनोरञ्जनको साधन रेडियो नेपाल मात्र थियो जुन विहान ५ बजे खुल्थ्यो रेडियोको ५ बजेको शंख ध्वनीसँगै उठिन्थ्यो । विहानको खाजा प्राय अघिल्लो दिनको बासी रोटी नै हुन्थ्यो रोटी मकै, कोदो वा गहुँको हुन सक्थ्यो त्यो नुन खुर्सानी पिसेर खाईन्थ्यो । कहिले काँही चिया पनि हुन्थ्यो तर चिनीको हैन भेलीको । मासु खान महिनौ कुर्नु पर्थ्यो । हरेक महिनाको मसान्तमा गाउँमा खसी काटिन्थ्यो र गाउँभरीका सबैले घरमा मासु लगेर मसान्त मनाउने चलन थियो । यसरी मासु खान पाको दिन परिवारका सदस्य सबै खुसी हुन्थ्ये । प्रत्येक दिन स्कुलबाट आएर बासी भात भुटेर खाइन्थ्यो । भुटेको भाँडोमा डडेको भात खुब मिठो लाग्थ्यो र त्यो भुटेको भाँडोमा खानको लागि बहीनी दिदीहरुसंग झगडा नै पर्थ्यने । पानी खाँदा स्टाइलीस पारमा गहुँको छुवाली कटेर त्यसको सोली बनाएर सुरुप्प खाइन्थो जुन अहिले स्टूको रुपमा परिचित छ ।

सो समयमा संसारमा चाउचाउ जती मिठो कुरा केही छैन जस्तो लाग्थ्यो । विदाको दिन बाटोमा कहि कतै सरहरुले देखे भने रातभरी निद्रा लाग्दैन्थ्यो भोलि क्लासमा सरले डण्डा लाउँछन् भनेर, मध्यान्तरमा स्कुलदेखि तल सल्लाघारीमा बसेर ढुङगामा हरियो नुन खुर्सानी पिसेर केटी साथिहरुसंग जिस्किदै अमिलो खानुको मजा आजभोलि झलझल्ती सम्झना आइरहन्छ । साथिहरुको नाम सहित रेडियो नेपालको अनुरोध संगित कार्यक्रममा रेडियोले आफ्नो नाम पढेको दिन त संसारको सबैभन्दा ठुलो मान्छे म नै हुँ जस्तो महशुस हुन्थ्यो ।

साथिहरुको नाम सहित रेडियो नेपालको अनुरोध संगित कार्यक्रममा रेडियोले आफ्नो नाम पढेको दिन त संसारको सबैभन्दा ठुलो मान्छे म नै हुँ जस्तो महशुस हुन्थ्यो ।

रेडियोमा विहान/बेलुका अल इन्डिया रडियोको विविध भारती भन्ने कार्यक्रम लगाएर नाइन्टिजका हिन्दी गितहरु रेडियो घन्काएर गाँउभरी सुनाउदा आँफुलाई हिरो नै हुँ जस्तो लाग्थ्यो । बाँसको सुपला बटुलेर भिरालो ठाँउमा गएर त्यसमा बसेर चिप्लेटी खेल्नुको मजा बेग्लै हुन्थ्यो । रेडियो नेपालमा आउने घटना र विचार, गितीकथा, दिनप्रतिदिन, शनिबार ११ बजे आउने पान्डव सुनारको फोनइन कार्यक्रम, बिबिसि नेपाली सेवामा आउने रविन्द्र मिश्रको नेपाल सन्दर्भ धेरैजसोका प्रिय कार्यक्रम हुन्थे । बेलुवा गाउँमा पढेलेखेकी दिदीहरुले अलि प्रौढ आमा/दिदीहरुलाई प्रौढशिक्षा पढाउने चलन थियो । प्रौढ शिक्षामा सुन्तली र बिरे भन्ने रमाइलो पाठ थियो त्यसमा रिकुटे भन्ने रमाईलो पात्र थियो । यो पाठ खुब पढिन्थ्यो । साँझ सुत्ने बेलामा घरका जेष्ठ सदस्यहरु विशेषगरी हजुरआमा, फुपुहरुले घरका केटाकेटीहरुलाई कथा सुनाउने (हाम्रो तिर सास्तर सुनाउने भन्थे) चलन थियो हामी कथा सुन्दै निदाउथियौं ।

घरमा बेलुका आरती गर्ने भजन गाउने चलन थियो । गाउँभरीका मान्छे आउने नाचगान गर्ने चलन थियो । माघ महिनामा त झन एक महिना सम्मा गाउँभरका मान्छे आएर स्वस्थानी सुन्ने चलन पनी थियो । घरमा केही मिठो मसिनो पाके छिमेकीलाई बाड्ने अनी छिमेकीले पनी ल्याईदिने चलन थियो । देशमा केही विशेष कार्यक्रम हुँदा रेडियो नछोडी प्रत्यक्ष प्रशारण सुनिन्थ्यो ।

दशै आउन लाग्दा भारतमा कमाउन गएका दाजुभाइहरु ठुलाठुला क्यासेट रेकर्डरहरु घन्काएर गाँउमा आउदाँ गाँउनै रमाइलो हुन्थ्यो । दशै आउन आग्दा गाउँका सबै मिलेर आफ्नो टोलको बाटो सफा गर्ने चलन थियो । लुगा धुन तथा नुहाउनको लागि सार्वजनिक स्थलमा रहेको घारा अथवा कुवामा पालो कुरेर बसिन्थ्यो । यी यस्तै घटना परिघटनाको याद सबैको यादमा छ÷छैन तर ती स्वर्णिम दिनहरुको याद गर्दा बेग्लै आनन्दको महशुस हुन्छ ।

प्रकाशित मिति : २०७८ माघ १० गते सोमवार
प्रतिक्रिया दिनुहोस